शनिबार, वैशाख २९, २०८१
03:56 | ०८:४१

बेलायतमा भानु जयन्तीसहित अनेसास पुरस्कार वितरण

नेपाली लिङ्क अगस्ट ९, २०२१

लन्डन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके च्याप्टरले आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट र डायस्पोराका आदिकवि भनेर चिनिने ईश्वर प्रसाद मानन्धर जयन्ती शनिबार एक कार्यक्रम गरी संयुक्त रुपमा मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनाल र विशेष अतिथि कवि ईश्वर प्रसाद मानन्धरकी छोरी सबिता मानन्धरको उपस्थिति थियो ।

अनेसासले हरेक वर्ष एक उत्कृष्ट कृतिलाई प्रदान गर्ने  सुप्रमा-ईप्रमा पुरस्कार यस वर्ष डायस्पोरामा सक्रिय कवयित्री प्रतिमा केसीको कृति ‘पानीको बिद्रोह’ कविता संग्रहका लागि प्रदान गरेको हो ।

सुन्दर प्रसाद मानन्धर (सुप्रमा) तथा ईश्वर प्रसाद मानन्धर (ईप्रमा) को नाममा स्थापित उक्त सुप्रमा-ईप्रमा पुरस्कार २०२१ अनेसासले एक भव्य समारोहबीच प्रतिमा केसीलाई प्रदान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी रोशन खनाल, पुरस्कार समितिका सदस्य सबिता मानन्धर र अनेसास यूकेका अध्यक्ष लक्ष्मी राई (लारा) ले नगद २५१ पाउण्ड, प्रमाणपत्र र पुष्प गुच्छाले कवयित्री प्रतिमा केसीलाई सम्मान गरेका थिए ।

साहित्य संगम यूकेका संस्थापक बिनोद अधिकारीले पुरस्कृत स्रष्टालाइ हार्दिक बधाई दिदै उक्त कृतिको संक्षिप्त चर्चा गरेका थिए । कार्यक्रममा पूर्वी लण्डन नेपाली समाजका अध्यक्ष दिलकुमार इवारम लिम्बुले समाजको तर्फबाट बधाई ज्ञापन गरे ।

अनेसासका केन्द्रिय सल्लाहकार तथा कार्यक्रम संयोजक सुमल कुमार गुरुङले सुप्रमा-ईप्रमा पुरस्कार छनौट प्रक्रिया र ‘पानीको बिद्रोह’ बारे चर्चा गरेका थिए ।

त्यस्तै पुरस्कार समिति सदस्य सबिता मानन्धरले पुरस्कार स्थापनाको पृष्ठभूमिबारे प्रकाश पारेकी थिइन् ।

आठौँ संस्करणसम्म आइपुग्दा उक्त सुप्रमा-ईप्रमा पुरस्कारबाट साहित्यकारहरु मुकेश राई, दुर्गा प्रसाद पोख्रेल, केदार संकेत, कृष्ण बजगाई, सुमाया राई, नृपेश उप्रेती र देवेन्द्र खेरेस पुरस्कृत भइसकेका छन् ।

माया गुरुङले भानुभक्तको जीवनीबारे चर्चा गर्दै कविता वाचन गरेकी थिइन् भने सुमल कुमार गुरुङले मोतीराम भट्ट तथा ईश्वर मानन्धरको जीवनीबारे प्रकास पारेका थिए ।

कार्यक्रममा गीत, मुक्तक र कविता वाचन गरिए । सर्जकहरु सुमल कुमार गुरुङ, बिनोद अधिकारी, निर्मला न्यौपाने, प्रतिमा केसी, माया गुरुङ, सारादेवी गुरुङ, मन्जु भण्डारी र कुमार केसीले आफ्ना रचना वाचन गरेका थिए । उत्तर-पूर्वी क्षेत्र बार्किङमा सम्पन्न उक्त कार्यक्रम अध्यक्ष लारा राईको अध्यक्षतामा भएको थियो ।

महासचिव मन्जु भण्डारीद्वारा संचालित सो कार्यक्रममा सारादेबी गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू