बिहीबार, चैत १५, २०८०
11:12 | १६:५७

एनआरएनए यूकेमा प्रेम गाहामगरको पूरै प्यानल विजयी

नेपाली लिङ्क अगस्ट ७, २०२१

लण्डन । एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन् । एनआरएनए यूके इतिहासमा पहिलोपटक भएको अनलाइन मतदानमा उनले अध्यक्षका अरु दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गरेका हुन् । 

निर्वाचन समितिले शुक्रबार राती एक पत्रकार सम्मेलन गरी निर्वाचित कार्यसमिति घोषणा गरेको हो ।

जसअनुसार अध्यक्ष निर्वाचित गाहामगरले ४ हजार ५ सय ७४ मत पाएका छन् भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् ।  

अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको छ ।  

बक्सर र गोर्खासैनिक हुँदै एनआरएनए यूके अध्यक्ष 

संघमा आर्थिक पारदर्शीता र गोर्खा मुद्दालाई प्राथमिकता दिएका गाहामगर नेपालमा राष्ट्रिय बक्सिङ खेलाडी थिए । गाहामगरले सन् १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका थिए । त्यस लगत्तै सन् १९९७ मा उनले ब्रिटिश सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ प्रतियोगितामा भाग लिएका थिए ।  

सामाजिक सेवामा सधैं दत्तचित्त गाहा मगर एनआरएनए यूकेमा दुई पटक उपाध्यक्ष भएका थिए । 

पहिलो पटक उपाध्यक्ष हुँदा (२०१७-१९) उनले बक्सिङ शो सहित च्यारिटी डिनर, नेपालका अपांग दाजुभाई दिदी बहिनीहरुको सहयोगार्थ कार्यक्रम तथा भ्वाइस अफ नेपाल कन्सर्ट सफलतापूर्वक सम्पन्न गरे । 

गत वर्ष कोरोना संक्रमणबाट भूतपूर्व गोर्खा परिवारलाई जोगाउन उनले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत निशुल्क वितरण गरेका थिए । 

अन्य पदमा को को विजयी ? 

एनसीसी यूकेको २ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् ।  

सोही पदका अन्य प्रत्यासीहरु पवन शर्माले २ हजार ३ सय ६४, तेजेन्द्र रोकाले १ हजार ४ सय ३५ र अमन गौचनले ९ सय २५ मत पाए ।  

महिला उपाध्यक्षमा मतसहित शकुन्तला गुरुङ ३ हजार ७ सय ४३ ल्याएर विजयी भइन् । उनका दुई प्रतिस्पर्धी प्रसुना कंडेलले २ हजार ४ सय ६९ र सरस्वती केसीले २ हजार १ सय ५२ मत प्राप्त गरे ।  

नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नारायण कुँवरले २ हजार ७ सय ४८ मत पाए । एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी छबिलाल अर्यालले २ हजार ९ सय ९ मत पाए ।  

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९  र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याए ।  

२ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हात पारे । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए ।  

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।  

इंग्ल्याण्डमा गुरुङ र स्कटल्यान्डमा भन्डारी

घोषित नतिजाअनुसार एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशीराम भन्डारी अध्यक्ष विजयी भएका छन् । 

इंग्ल्यान्डको अध्यक्षमा विजयी गुरुङले ३ हजार ६ सय २३ मत पाए भने प्रतिद्वन्दी डा. मीन रानाभाटको ३ हजार १ सय ४१ मत आयो । परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए ।  

त्यस्तै, स्कटल्यान्ड राज्य परिषदमा काशिराम भन्डारी ५ सय २२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी  दिवाकर पाण्डेले २ सय ५० मत ल्याए ।  

स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सह-सचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सह-कोषाध्यक्षमा प्रजापति शर्मा विजयी भए ।सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन् ।  

वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो ।  

यसपटक झन्डै साढे ११ हजार मतदातामाझ बेलायती कम्पनी च्वाइस भोटिङले ‘डिजिटल भोटिङ’ गराएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू