शनिबार, वैशाख ८, २०८१
13:14 | १७:५९

एनआरएनए यूके नतिजा सार्वजनिक गर्न निर्वाचन समितिमाथि व्यापक दवाव

एक समूहले मध्यरातमा बन्धक बनाएको सदस्यसचिवको गम्भीर आरोप

नेपाली लिङ्क अगस्ट ६, २०२१

लन्डन । एनआरएनए यूके निर्वाचनको मत परिणाम सार्वजनिक गर्न ढिलाइ भइरहंदा निर्वाचन समितिमाथि विभिन्न समूह र व्यक्तिबाट दवाव बढेको छ । नतिजा समयमै सुन्न आमदाता आतुर हुनु स्वभाविक भएपनि केही समूहले निर्वाचन समितिका पदाधिकारीमाथि अनावश्यक दवाव र धम्की दिएको समाचार प्रकाशमा आएको छ ।

सदस्यसचिव कर्ण शाहीले आफूलाई बिहीबार राती अपरिचित ठाउंमा लगेर एउटा समूहले बन्धक जस्तै बनाइ नतिजा घोषणा गर्न दवाव दिएका बताएका छन् । मध्यरातमा सामाजिक सञ्जालमा शाहीले ति व्यक्तिको नाम खुलाएका छैनन् तर लुइसम प्रहरीको सहयोगमा आफू सकुशल घर आइपुगेको उल्लेख गरेका छन् ।

‘एनआरएनए, यूकेको निर्वाचन आयोग २०२१ को सदस्य–सचिवका रुपमा रहेकाले विभिन्न व्यक्ति, समूहले म माथि दवाव, रवाफ पार्न खोज्नुलाई मैले त्यति अन्यथा मानेको छैन् । तर, मध्यरातमा समाजका जिम्मेवार भनिएका व्यक्तिहरुको उपस्थिति तथा उहांहरुको उक्साहटमा करिब दुई दर्जन भन्दा बढी व्यक्तिको झुण्डले उनीहरुले भनेको ठाउं तर मेरा लागि ‘अननोन लोकशन’ मा गएर मैले उनीहरुले चाहे अनुसार घोषणा गर्न जान नचाहे पछि गाली गलौज गर्ने, मलाई लगभग बन्धक जस्तै गराउने काम भएकाले म ज्यादै दुःखी छु’, उनले भनेका छन् ।

बेलायतको नेपाली समाज धेरै नै खण्डित भएको एकदमै तीतो अनुभव व्यक्त गर्दै शाहीले लेखेका छन्, ‘दुर्भाग्यवशः हामी बेलायत आएर पनि नेपालमा जस्तै जात, धर्म, क्षेत्र, पार्टी तथा गुटगट राजनीतिबाट हामी उठ्न सकेका रहेनछौ । हामी सबैले एक अर्कालाई सम्मान गर्न सिकौं र एकआपसमा मिलौं किनकि एकतामा नै हाम्रो साझा सुन्दर भविष्य छ ।’

अध्यक्ष उम्मेदवारहरुका कारण ढिलाइ

पहिलोपल्ट अनलाइन प्रविधि मार्फत सम्पन्न भएको एनआरएनए यूकेको मत परिणाम सार्वजनिक गर्न ढिलाइ भएको भन्दै उम्मेदवार र मतदाता आक्रोशित बनिरहेका बेला बिहीबार राति निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज कंडेलले अध्यक्ष उम्मेदवारहरुका कारण ढिला भएको धारणा व्यक्त गरेका छन् ।

अनलाइन मतदान प्रक्रिया जिम्मा लिएको बेलायती भेण्डर च्वाइस भोटिङले दुई हजार भन्दा बढी मत अस्वभाविक रुपमा खसेकाले उक्त भोटकाबारेमा उम्मेद्वारबाट सहमति पत्रमा हस्ताक्षर गरेर पठाउन  निर्वाचन प्रमुख आयुक्त कंडेललाई पत्र लेखेको तर, प्रत्यासी उम्मेदवारका तर्फबाट प्रेमगाहा मगरले उक्त पत्रमा हस्ताक्षर नगरेका कारण भेण्डरलाई जवाफ पठाउन नसकिएको कंडेलले बताएका छन् ।

बिहीबार दिनभरी नै सहमति पत्रमा हस्ताक्षर गराउने प्रयासमा लाग्दापनि सफल नभएको उनले बताएका छन् । भेण्डर च्वाइस भोटिङसंग भएको सम्झौता अनुसारको प्रक्रिया पूरा नगरी उनीहरुबाट नतिजा प्राप्त नहुने बताउंदै कंडेलले शुक्रबार बिहानसम्म प्रत्यासी  उम्मेद्वारबाट हस्ताक्षर प्राप्त हुने बताए ।

निर्वाचन समितिका कारण नतिजा ढिलाई भएको भन्ने भ्रममा नपर्न पनि कंडेलले आग्रह गरेका छन् ।

निर्वाचन प्रमुख आयुक्त महेन्द्र कंडेलको भनाइ यस भिडियोमा (भिडियो सौजन्य: लन्डननेपालन्यूज)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू