शनिबार, वैशाख १५, २०८१
21:14 | ०१:५९

नेपाल अझै बेलायतको रेड लिष्टमा  

भारत, कतार, बहराइन र युएइ 'रेड लिष्ट' बाट मुक्त

नेपाली लिङ्क अगस्ट ५, २०२१

लण्डन । भारतमा फैलिएको डेल्टा भेरिएन्ट (इन्डियन भेरिएन्ट) का कारण बेलायतको यात्रा प्रतिबन्ध अन्तर्गत खतरनाकको सूची अर्थात ‘रेड लिष्ट’ मा परेको नेपाललाई बेलायत सरकारले अझै पनि कायमै राखेको छ ।

आगामी अगष्ट ८ तारिख आइतबार बिहान ४ बजेबाट लागू हुने गरि बेलायतले रेड लिष्टको सूचीलाई परिमार्जन गर्दै भारत, कतार, बहराइन र युएइ जस्ता मुलुकलाई रेड लिष्टबाट हटाएर एम्बर लिष्टमा राखे पनि नेपाललाई भने यथावत नै राखेको हो ।

‘रेड लिष्ट’ को सूचीमा परेका यात्रुले बेलायत आउँदा सरकारले तोकेको होटलमा आफ्नै खर्चमा दश दिनसम्म अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने हुन्छ । तर, एम्बर लिष्टबाट बेलायत भित्रिएका यात्रुले आफ्नै निवासमा आइसोलेशन बस्न पाउनेछन् ।

रेड लिष्टबाट आउने यात्रुले तिर्नुपर्ने होटल क्वारेन्टाइन वापतको रकम आउँदो अगष्ट १२ देखि  १, ७५० पाउण्डबाट बढाएर २,२८५ पाउण्ड निर्धारित गरिएको छ  । उक्त रकम  यात्रुले पहिला नै भुक्तानी गर्नुपर्ने हुन्छ । यसैगरी संगै यात्रा गर्ने ११ वर्ष माथिका बयस्कले प्रति व्यक्ति १,४३० पाउण्ड तिर्नुपर्नेछ, जुन यसअघि ६५० पाउण्ड थियो ।

तर, ५ देखि ११ वर्ष उमेरकाले ३२५ पाउण्ड तिर्नुपर्नेछ जुन रकम पहिलाकै कायम गरिएको छ । आर्थिक अवस्था कम्जोर भएकाले होटल क्वारेन्टाइन वापतको रकम १२ महिनाको किस्तावन्दीमा पनि तिर्न सक्ने प्रावधान राखिएको छ ।

बेलायतमा कोरोना संक्रमण दर उकालो लाग्दै गएपनि सरकारले यसअघि लगाइएको यात्रा प्रतिबन्ध भने थप सहज बनाउंदै आएको छ । दुवै डोज खोप लगाइसकेका युरोप अमेरिका लगायत मुलुकबाट आउने यात्रुलाई बेलायत प्रवेशमा थप सहजता प्रदान गरिएको हो ।

हाल रेड लिष्टमा रहेको फ्रान्सलाई ग्रीन लिष्टमा सारिएको छ । दुवै डोज खोप लगाइसकेका फ्रान्सबाट बेलायतका इंग्ल्याण्ड, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा आउने यात्रुहरुले आउँदो आइतबार  बिहान ४ बजेबाट क्वारेन्टाइन बस्न नपर्ने भएको छ ।

तर, हजारौं संख्यामा ब्रिटिशहरु रहेको मेक्सिकोलाई भने रेड लिष्टमा राखिएको छ । स्पेनलाई एम्बर लिष्टमा राखिएपनि दुवै डोज खोप लगाइसकेका यात्रुले बेलायतमा क्वारेन्टाइन बस्न पर्दैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू