शुक्रबार, वैशाख १४, २०८१
18:30 | २३:१५

स्वीन्डनको नेपाली समाजले पायो बेलायती कम्युनिटी अवार्ड

नेपाली लिङ्क अगस्ट ४, २०२१

लन्डन । बेलायतको स्वीन्डन क्षेत्रका नेपालीहरुको संस्था ‘नेपाली समाज वील्शायर’ स्वीन्डनले स्थानीय कम्युनिटी अवार्ड प्राप्त गरेको छ ।  

कोभिड महामारीका बेला समुदायको सहयोगमा पुर्‍याएको योगदानको कदरस्वरूप समाजले सन् २०२० को  ‘एमटिएम अवार्ड’ पाएको हो ।  

साउथ वेष्ट बेलायतस्थित सामाजिक तथा परोपकारी संघसंस्था, व्यवसाय एवम् व्यक्तित्वहरुलाई समेत प्रदान गरिंदै आएको ‘एमटिएम अवार्ड’को सामुदायिक विधातर्फ समाजलाई अवार्ड दिइएको हो ।  

एशियन, अफ्रिकन तथा अल्पसंख्यक समुदायको प्रोत्साहनका लागि स्थानीय एक मिडियाको आयोजनामा विगत १० वर्षदेखि ‘एमटिएम अवार्ड’ वार्षिक रुपमा प्रदान गरिंदै  आएको छ ।  यसपटक पनि विभिन्न २४ विधामा संघसंस्था र व्यक्तिहरुलाई अवार्ड वितरण गरियो । 

गत शनिबार ब्रिस्टोलस्थित म्यारिएट होटेलमा आयोजित एक विशेष समारोहबीच अवार्ड वितरण गरिएको हो । समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङसहितका पदाधिकारीहरुले अवार्ड ग्रहण गरेका थिए । सचिव भवानीप्रसाद गुरुङ, जेष्ठ नागरिक संयोजक रन्जन मल्ल​, कार्यसमिति सदस्य तिल मगर​, सल्लाहकार राजन कुमार क्षेत्री, सदस्यहरु उन्नति गुरुङ, सम्झना क्षेत्री, जयन्ती गुरुङ​, प्रेमा गुरुङ लगायत समारोहमा उपस्थित थिए ।  

समाजका अध्यक्ष गुरुङका अनुसार सामजिक संघसंस्था तथा व्यक्तिगत रुपमा समेत  सामुदायिक स्तरमा गरेका उल्लेखनीय परोकारी तथा सामजिक कार्यहरुको आधारमा प्रदान गरिने अवार्डका लागि कुल २१ संघसंस्थाले प्रतिस्पर्धा गरेका थिए ।  

गत वर्ष पनि यो अवार्ड जितेको नेपाली समाज विल्शायर, स्विन्डनले लगतार दोस्रो वर्ष अवार्ड हात पारेको छ​ ।

‘ यो पुरस्कारको सम्पूर्ण श्रेय विल्शायर, बेलायतमा बसोबास गर्ने नेपाली समुदायका हरेक सदस्यलाई जान्छ । उहाँहरुको योगदान र मद्धतले  नै हामीले दोस्रो पटक अवार्ड जित्न सफल भ​एका छौं’, अध्यक्ष गुरुङले भने ।

त्यस्तै, यस वर्ष व्यवसायिक विधातर्फको अवार्ड स्थानीय नेपाली रेष्टुरेन्ट ‘याक द हिमालयन’ ले प्राप्त गरेको छ । रेष्टुरेन्टका संचालक अर्जुन गुरुङ र जयन्ती गुरुङलाई अवार्डको लागि समाजले बधाई ज्ञापन गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू