शुक्रबार, वैशाख १४, २०८१
00:03 | ०४:४८

एनआरएनए यूकेको मतदान अन्तिम चरणमा, मताधिकार सदुपयोग गर्न निर्वाचन समितिको अपिल

नेपाली लिङ्क अगस्ट ३, २०२१

लन्डन । एनआरएनए यूकेको नयाँ कार्यसमिति चयनका लागि सोमबारबाट शुरु भएको अनलाइन मतदान अहिले जारी छ ।  

आज मध्यान्ह १२ बजेसम्म खुला रहने मतदानमा सहभागी बनेर आफ्नो मताधिकार सदुपयोग गर्न निर्वाचन समितिले सबै मतदाताहरुलाई अपिल गरेको छ ।  

प्रमुख आयुक्त महेन्द्रराज कँडेलका अनुसार मंगलबार बिहानसम्ममा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।  

‘कति मत खस्यो भन्ने यकिन तथ्यांक हामीले भेन्डरबाट पाएका  छैनौं । तर अधिकांश मतदाताले सहज तरिकाले मतदान गरिरहेको सूचना हामीलाई प्राप्त भएको छ’, प्रमुख आयुक्त कँडेल भन्छन्, ‘झिनो संख्यामा केही मतदाताको इमेल आएन भन्ने गुनासो आएको छ । तर सबैलाई आउँदा केहीलाई मात्र आएन भने उहाँहरुको इमेलमै समस्या भएको हुन सक्छ ।’ 

लामो समयसम्म इमेल प्रयोग नगरेको, जंक/ स्पाम इमेल चेक नगरेको, नयाँ कम्पनी/ बिजनेसका इमेललाई रोक्ने सेटिङ गरेको जस्ता अवस्थाहरुको कारण पनि केही मतदाताले इमेल नपाएको हुन सक्ने प्रमुख आयुक्त कँडेलको भनाइ छ ।  

गलत इमेल ठेगाना दिइएका कारण कयौं मतदातालाई पठाइएको इमेल फिर्ता आएको समेत पाइएको उनले जनाए ।  

‘एनआरएनएनए यूकेमा हामी पहिलोपटक अनलाइन मतदान गर्दैछौँ । तर पनि छिटफुट गुनासोहरुबाहेक अत्यन्तै सहज ढंगबाट मतदान भइरहेको छ’, प्रमुख आयुक्त कँडेल भन्छन्, ‘हामीले पाएका गुनासोहरु भेन्डरसम्म पनि पुर्‍याइरहेका छौं ।’

निर्वाचन गराउन जिम्मा दिइएको ब्रिटिश कम्पनी ‘च्वाइस भोटिङ’ ले आफूलाई प्राप्त मतदाता नामावलीअनुसार सबै मतदाताहरुलाई इमेल पठाइसकेको र अब आफ्नो तर्फ़बाट इमेल पठाउन बांकी नरहेको बताएको उनले जनाए । 

“कुनै मतदाताको इमेल एक्टिभ नभएको हुन सक्छ, इमेल जंक मेलमा गएर बसेको पनि हुन सक्छ, तुरुन्त चेक गर्न म अनुरोध गर्दछु’, कँडेलले भने । केहि मतदाताको सदस्यता बनाउँदा नै इमेल फरक पर्न गएकाले इमेल नपाएको गुनासो आएको पनि उनले बताए । 

‘हामीले सबै गुनासोहरुको तत्काल जवाफ दिने प्रयास गरिरहेका छौं’, उनले भने । यदि कुनै मतदाताले  मतदान गराउन जिम्मा दिइएको ब्रिटिश कम्पनी ‘च्वाइस भोटिङ’ बाट अहिलेसम्म पनि इमेल नपाएको भए [email protected] वा निर्वाचन समितिको फोन नम्बर 07976260155 र 07760184482 मा खबर गर्न निर्वाचन समितिले अनुरोध गरेको छ ।

निर्वाचन समितिले ३ सय भन्दा बढी मतदाताहरुको इमेल ‘बाउन्स व्याक’ भएको भन्दै उनीहरुको विवरण आफ्नो वेब साइट www.nrnaukelection.com मा सार्वजनिक गरेको छ ।

एनआरएनए यूकेमा यस पटक ११ हजार बढी मतदाता छन् । पहिलो पटक अनलाइन माध्यमबाट चुनाव भइरहेको छ ।

मतदान मंगलबार दिउंसो सकिए पनि अन्तिम नतिजा बिहीबार मात्रै प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू