राप्ती समाज यूकेले साविक राप्ती अञ्चलमा पठायो ७ ओटा अक्सिजन कन्सनट्रेटर


लन्डन – बेलायतमा बसोबास गर्ने राप्तीवासीहरुको संस्था राप्ती समाज यूकेले साविक राप्ती अञ्चलका पांच ओटै जिल्लामा ७ ओटा अक्सिजन कन्सनट्रेटर पठाएको छ ।
नेपालमा कोभिड-१९ को दोश्रो चरणमा अक्सिजनको हाहाकार भएपछि राप्ती समाज युकेले पहिलो चरणमा ‘रेड जोन’ मा रहेको दाङ्ग जिल्लाका तीन ओटा स्वास्थ्य केन्द्रहरुमा एक/एक ओटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको थियो।
दाङ्ग लमही अस्पताललाई एक थान, राजपुर स्वास्थ्य केन्द्रका लागि एक थान र बंगलाचुली गाउँपालिकाको स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो।
दोस्रो चरणमा राप्ती समाज यूकेले पठाएको एक थान अक्सिजन कन्सन्ट्रेटर पूर्वी रुकुमस्थित रुकुम जिल्ला अस्पताल विकास समितिका अध्यक्ष फत्तेकुमारी ओलीलाई हस्तान्तरण गरियो ।
समाजका सचिव काउन्सिलर दिनेश खडकाले आफ्नो ब्यक्तिगत सौजन्यमा उपलब्ध गराउनु भएको एक थान अक्सिजन कन्सन्ट्रेटर रोल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढा मगरलाई हस्तान्तरण गरिएको थियो ।
समाजले उपलब्ध गराएको एक थान अक्सिजन कन्सनट्रेटर प्युठान नगर पालिकाका मेयर अर्जुन कुमार कक्षपतिलाई हस्तान्तरण गरिएको छ ।
त्यस्तै समाजले उपलब्ध गराएको थप एक थान अक्सिजन कन्सन्ट्रेटर सल्यान नगरपालिकाका उपमेयर साबित्रा घर्ति मगर तथा सल्यान अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. दशरथ कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।
‘नेपालमा अक्सिजनको अभाव व्यहोरिरहेका कोभिडका बिरामीहरुलाई मद्दत पुगोस् भन्ने उद्देश्यले हामीले आफ्ना सदस्यहरुबाट सहयोग संकलन गरेका थियौं। हामीले गरेको सहयोग साविक राप्ती अञ्चल का सबै जिल्लाहरुमा पुगिसकेको र कोभिड पीडितहरुले सेवा प्राप्त गर्न थाली सकेको थाहा पाउँदा हामीलाई निकै खुसी लागेको छ’, राप्ती समाज यूकेका अध्यक्ष हिक्मतसिं रोकाले भने ।
त्यसै गरी राप्ती समाज युकेका सचिव काउन्सिलर दिनेश खड्काले स्थापना काल देखि नै राप्ती समाजले नेपालमा भूकम्प, आगलागी जस्ता घटनाका पीडितहरुलाई मदत गर्दै आएको बताए । ‘सिङ्गै विश्व कोभिडबाट पीडित भैरहेको बेला आफ्नो जन्मभूमिका लागि सानो भए पनि सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ’- उनले भने ।
समाजका अध्यक्ष रोकाले सात थान अक्सिजन कन्सनट्रेटर नेपालसम्म पठाउन आर्थिक सहयोग गर्ने यूकेस्थित सबै राप्तीवासीहरुका साथै सम्बन्धित जिल्लाहरुमा पुराउन सहयोग गर्ने सबै सहयोगीहरुलाइ धन्यवाद दिएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५