मंगलबार, जेठ १, २०८१
00:59 | ०५:४४

एनआरएनए यूके निर्वाचन: पहिलो पटक अनलाइन, कौतुहलता र आशंका एक साथ

नेपाली लिङ्क जुलाइ ३०, २०२१


लन्डन । बेलायतमा यतिखेर एनआरएनए यूकेको चुनावी सरगर्मी बढेको छ । भोलि ३१ जुलाई शनिबार हुने अनलाइन मतदानको तयारी पुरा भइसकेको निर्वाचन समितिले बताएको छ ।

यसपटक नेतृत्व आफ्नो हातमा लिन तीन प्रत्यासी मैदानमा छन् । अध्यक्षका प्रत्यासीहरु एनआरएनए यूके उपाध्यक्षद्वय रोजिना प्रधान राई र प्रेम गाहामगर एवं इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठ आ आफ्ना प्रतिवद्धतासहित मतदातासमक्ष पुगेका छन् । 

बेलायतमा भूतपूर्व गोर्खाहरुको वाहुल्य छ । उनीहरु लामो समयदेखि समान पेन्सनलगायत माग राखेर आन्दोलित छन् । अध्यक्षका तीनै जना प्रत्यासीले आफ्नो घोषणापत्रमा त्यही गोर्खा मुद्दालाई प्राथमिकतामा राखेका छन् । 

ति उम्मेदवारका एजेण्डा प्राय समान लाग्छन् । अघिल्लो कार्यकालमा संघभित्र आर्थिक अनियमितता भएको भन्दै बेलायती अदालतमा मुद्दा समेत दर्ता भएको अवस्थामा संस्थालाई पारदर्शी गराउन आफ्नो नेतृत्व लाग्ने तिनै जनाको दावी छ । 

नेपाली नागरिकताको निरन्तरता, बेलायतमा नेपाल हाउस, यहांबाट नेपालमा लगानी प्रवर्धन तथा सीप हस्तान्तरण, महिला सशक्तिकरण, संघमा युवा सहभागिता, नेपालको पर्यटन प्रवर्धन जस्ता विषयमा अध्यक्ष प्रत्यासीले मुख्य एजेण्डा बनाएका छन् । 

हुन त विगतका अध्यक्ष प्रत्यासीहरुले पनि एजेण्डा त आकर्षक बनाउने गरेका थिए । यद्यपि ति कहिल्यै कार्यान्वयन भएनन् र अहिलेका प्रत्यासीले पुरानै एजेण्डा पछ्याउनु परेको छ ।  

यो पटक एनआरएनए यूकेमा झण्डै साढे ११ हजार पञ्जीकृत सदस्य छन् । बेलायत एनआरएनएको जननी पनि मानिन्छ किनकि यो संघ जन्मनुअघिको गृहकार्य र बैठक बेलायतमै भएको थियो । तुलनात्मक रुपमा एनआरएनए यूके आफैंमा एउटा सशक्त राष्ट्रिय समिति भएकाले विश्वभरका शाखाहरुले यहांको निर्वाचनलाई चासोका साथ नजिकबाट हेरिरहेका छन् । 

एनआरएनए यूके इतिहासमै यसपटक पहिलोचोटी अनलाइन मतदान हुने तय भएकाले आम मतदातामा अन्यौल र कौतुहलता दुवै पाइएको छ । उम्मेदवारहरु पनि विगत जस्तो मत खस्नेबारे विश्वस्त छैनन् ।

अध्यक्षका प्रत्यासी आफैंले नै सदस्यता बनाइदिने परिपाटी ‘ओपन सेक्रेट’ जस्तै छ । तर, अनलाइन सिस्टमले एउटा आइपी एड्रेसबाट ५ जनाभन्दा बढी मत हाल्न नपाइने भन्ने कुराले सबैका लागि चुनौतिपूर्ण छ यो पटकको निर्वाचन ।

निर्वाचन समितिले बेलैमा अनलाइन भोटिङका लागि ‘भेन्डर’ सम्झौता गर्न नसकेकाले बिहीबारसांझसम्म मत कसरी हाल्ने भन्ने अन्यौल सबैमा व्याप्त देखिन्थ्यो ।

फेरि सामान्यतया अनलाइन मतदान सकिए लगत्तै नतिजा आइहाल्ने भएपनि यहां निर्वाचनको जिम्मा लिएको बेलायती कम्पनी ‘च्वाइस भोटिङ’ ले मंगलबारमात्र नतिजा आउने भनेकाले ढिलाइप्रति कतिपयमा आशंका पनि जन्माएको देखिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू