बिहीबार, वैशाख १३, २०८१
23:00 | ०३:४५

कवयित्री प्रतिमालाई अनेसास-सुप्रमा इप्रमा पुरस्कार

नेपाली लिङ्क जुलाइ २९, २०२१

लण्डन । बेलायतको रेडिङ निवासी कवयित्री प्रतिमा केसी अनेसास-सुप्रमा इप्रमा पुरस्कार-२०२१ बाट पुरस्कृत भएकी छिन् । उनको कविता कृति ‘पानीको बिद्रोह’ का लागि केसीलाई पुरस्कृत गरिएको हो । 

अन्तरराष्ट्रिय साहित्य समाज यूकेकी अध्यक्ष लारा, केन्द्रिय सल्लाहकार सुमल कुमार गुरुङ तथा सल्लाहकार डा. रुपक श्रेष्ठको पुरस्कार संयोजन समितिले सो पुरस्कृत कृतिको घोषणा गरेको हो । 

डा. श्रेष्ठका अनुसार बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरद्वारा आफ्नो स्व पिता सुन्दरप्रसाद मानन्धरको स्मृतिमा स्थापित सो पुरस्कारको रकम २५१ पाउन्ड छ । 

बेलायतमा रहेर सिर्जना गरिएकामध्ये उत्कृष्ट पुस्तकलाई प्रदान गरिने सो पुरस्कार स्व मानन्धरकी धर्मपत्नी जानकी मानन्धरको बाहुलीबाट अनेसासद्वारा आयोजित भानु जयन्ती तथा ईश्वर मानन्धर जयन्तीका विशेष कार्यक्रममा प्रदान गरिनेछ ।

पुरस्कृत केसीका ‘हिम्मत’ म्यूजिक भिडियो अल्बम, ‘अक्षरहरुको पिरामिड’, ‘प्रवासका अक्षरहरु’, ‘गजल गङ्गा’, ‘मुक्तक महक’, ‘बेलायतमा कवि र कविताहरु’, तथा ‘शारदा – प्रणय मुक्तक विशेषांक’, जस्ता संयुक्त प्रकाशन तथा विभिन्न पत्रपत्रिकामा रचनाहरु प्रकाशित छन् ।  

केसी नेपाल मुक्तक प्रतिष्ठान – बेलायत शाखामा उपाध्यक्ष, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवन तथा साहित्य संगम, बेलायतको आजीवन सदस्य हुन् । 

यस अघि सो पुरस्कारबाट मुकेश राई, दुर्गाप्रसाद पोख्रेल, केदार संकेत, कृष्ण बजगाई, सुमाया राई, नृपेश उप्रेती तथा देवेन्द्र खेरेस पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू