मंगलबार, चैत ६, २०८०
03:22 | ०९:०७

सांसद पद पुनर्बहालीका लागि चार नेता पुगे सर्वोच्च  

रासस जुलाइ २८, २०२१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट नेकपा एमालेमा प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रमु साह र गौरीशङ्कर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । 

उनीहरुले संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषण तथा परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरी सांसद पद पुनर्बहालीको माग गर्दै रिट निवेदन दर्ता गराएका छन् ।

उनीहरुले नेकपा (माओवादी केन्द्र), निर्वाचन आयोग, सङ्घीय संसद् सचिवालय, माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विपक्ष बनाई रिट दायर गरेका छन् । 

रिट निवेदनमा आफूहरु २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा संविधानको धारा ८४ (१) को (क) बमोजिम निर्वाचित भएको र संविधानको धारा ८५ वमोजिम निर्वाचित भएको मितिले पाँच वर्षसम्म रहने व्यवस्थाअनुसार आफूहरु सो पदमा रहनुपर्ने माग छ । 

नेकपा (एमाले) मा उनीहरु चारै जना प्रवेश गरेपछि माओवादी केन्द्रले सांसद पद मुक्त गरेको थियो । रिट निवेदनमा संविधान र प्रचलित कानूनले निर्धारण गरेको आधार बिना नै सांसद पद रिक्त गर्न गरिएको निर्णय संवैधानिक र कानूनी व्यवस्था प्रतिकूल रहेको उल्लेख गरिएको छ । 

उनीहरुले दल त्याग गरेको आधारमा आफ्नो सांसद पद रिक्त गरिएको नभई दल त्यागको आरोप लगाई दलबाट निष्काशन गरिएको उल्लेख गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू