शनिबार, २६ सेप्टेम्बर, २०२६
17:16 | २२:०१

बहुपक्षीय सहयोग खोज्न अर्थमन्त्री डा. वाग्ले कतार प्रस्थान

रासस सेप्टेम्बर २६, २०२६

काठमाडौँ, असोज १० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गरेका छन् ।

बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री वाग्ले आज साँझ कतारको राजधानी दोहा प्रस्थान गरेका हुन् । उनीसँग अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि छन् ।

एघारौँ वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्ने मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा अर्थमन्त्रीको उपस्थितिमा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षसँगै भारत, बङ्गलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता कार्यक्रम तय छ ।

वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आगामी २०८३ असोज १४ गते कतार एयरवेजको उडानमार्फत स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू