मंगलबार, चैत ६, २०८०
08:21 | १४:०६

गोर्खाहरुको अनसन तोड्न बेलायतको व्यापक दवाव, शनिबार झन् ठूलो प्रदर्शन

नेपाली लिङ्क जुलाइ २७, २०२१

लन्डन । बेलायत सरकारले भूतपूर्व गोर्खाहरुको जारी रिले अनसन र भोक हड्ताल तोडन् व्यापक दवाव दिएको छ ।

मंगलबार रिले अनसनको ७ औं दिन आइपुग्दा आफूहरुलाई अनसन र भोक हड्ताल रोक्न व्यापक दवाव आएको आयोजक गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले जानकारी दिए ।

‘सन् २०१३ मा म आमरण अनसन बस्दा त यस्तो दुःख दिएको थिएन्’, राईले नेपाली लिंकसंग भने, ‘कहिले यहां यस्तो ब्यानर किन राखेको भन्ने, कहिले कुर्सीमा नबस भन्ने गरेर बेलायतले अनसनबाट वञ्चित गराउन खोजिरहेको छ । तर हामी कुनै पनि हालतमा छाड्दैनौं ।’

भूतपूर्व गोर्खाहरु समान पेन्सन लगायत माग राखेर बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ भिसीको नाममा १३ दिने रिले अनसनमा छन् । १३ दिनको अल्टिमेटम दिएका गोर्खाहरु त्यो बेलासम्म बेलायतले कुनै सुनुवाइ नगरे भोक हड्तालमा उत्रंदै छन् ।

बेलायती भेट्रान्स र नेपाली समुदायको व्यापक समर्थन

सत्याग्रह समितिले आफ्नो आन्दोलनमा बेलायती भेट्रान्स, सिख समुदाय र नेपाली समुदायको व्यापक समर्थन रहेको जनाएको छ । ‘आदिवासी जनजाती महासंघ यूके, एनआरएनए यूकेसहित विभिन्न संघसंस्थाका प्रतिनिधि र व्यक्तिहरु आएर हामीलाई हौसला एवं ऐक्यवद्धता जनाइरहनु भएको छ’, राईले भने ।

यसैबीच, आउंदो शनिबार ब्रिटिश भेट्रानहरुको आयोजनामा बेलायती प्रधानमन्त्री कार्यालय अगाडि व्यापक प्रदर्शनको तयारी छ । ‘त्यही प्रदर्शनले गोर्खाहरुको भविष्य थाहा हुन्छ, गोराहरुले सांच्चिकै हामीलाई साथ दिन चाहेका हुन् भने त्यो प्रदर्शनले केही परिवर्तन हुन सक्छ’-राई भन्छन्।

बेलायत सरकारबाट अहिलेसम्म केही प्रतिक्रिया नआएको जनाउंदै राईले भोक हडताल नबस्न गोर्खाली नै विरोधमा लागेपनि ब्रिटिश भेट्रान्स भने एकजुट भएको राईले बताए ।

आफ्नो आन्दोलन कार्यक्रमका लागि केन्द्रिय समितिबाट एक एक लाख रुपैयां उठाइएको तर चन्दा नमागिइएको राईको जिकिर छ । ‘केहीले स्वतफूर्त दिएर जान्छन् । हामीले दिनुस् भनेका छैनौं’, राईले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू