बिहीबार, वैशाख ६, २०८१
04:12 | ०८:५७

पत्रकार खनाललाई एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार

नेपाली लिङ्क जुलाइ २६, २०२१

लन्डन । एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१ वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले आइतबार साँझ लन्डनमा एक समारोहबीच वरिष्ठ पत्रकार श्रीभक्त खनाललाई पुरस्कार प्रदान गरेको हो ।

पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेलले ५०२ पाउण्ड राशी, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगरले सम्मान पत्र र अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गरेका थिए ।

खनालको हिमालखबर डटकममा २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह’ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पत्रकारिता, डकुमेन्ट्री निर्माण र पुस्तक लेखनमा पनि सक्रिय खनालका तीन वटा पुस्तक प्रकाशित छन् ।

पुरस्कार ग्रहण गर्दै पत्रकार खनालले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययनका बेला र पत्रकारिता अभ्यासका क्रममा असल सम्पादकहरुसित काम गर्न पाएका कारण आफू अहिले यस स्थानमा आइपुग्न सक्षम भएको बताए । उनले पुरस्कारका लागि शाखालाई धन्यवाद ज्ञापन गरे ।

त्यस अवसरमा शाखाका निवर्तमान अध्यक्ष मगरले बेलायतमा रहेका नेपाली पत्रकारहरुबाट खोजमूलक समाचार सामग्री लेखनमा प्रोत्साहन दिन पुरस्कार स्थापना गरिएको बताए ।

शाखाले बेलायतमा कार्यरत नेपाली मूलका पत्रकारहरुद्वारा सम्प्रेषित उत्कृष्ट समाचारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले यसै वर्षदेखि सो पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको राशी एकल भए ५०२ पाउण्ड दुई जनालाई भए जनही २५१ पाउण्ड र सम्मान पत्र राखिएको छ ।

पुरस्कृत पत्रकार छनौटका लागि डा. कृष्ण अधिकारीको संयोजकत्वमा डा. प्रियंवदा पौड्याल, नरेश खपाङ्गीमगर र डा. जगन कार्की रहेको एक छनौट समिति गठन गरिएको थियो ।

शाखाका अध्यक्ष अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा सम्पन्न पुरस्कार वितरण समारोहमा सचिव खेमराज रानाभाटले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा शाखाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, सचिव मञ्जु भण्डारी, सह-कोषाध्यक्ष सुरेन्द्र इंग्नामसहित विश्वासदीप तिगेला, कुशल श्रेष्ठ लगायत पत्रकारहरुको पनि सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू