बुधबार, वैशाख १२, २०८१
16:19 | २१:०४

एनआरएनए यूकेको १० औं महाधिवेशन १८ घण्टा ‘हट डिवेट’ पछि समापन

नेपाली लिङ्क जुलाइ २६, २०२१

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको १० औं राष्ट्रिय महाधिवेशन संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा आइतबार (२५ जुलाइ २०२१) ’भर्चुअल’ माध्यमबाट सम्पन्न भएको छ । उद्घाटन र बन्द सत्र गरि दुई चरणमा करिब १४ घण्टा निरन्तर चलेको महाधिवेशनमा एनआरएनए यूकेका झन्डै २ सय पन्जिकृत सदस्य उपस्थित थिए ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्त, आइसीसीका विभिन्न पदाधिकारी, सल्लाहकार, सदस्य तथा एनआरएनए यूकेका पूर्व अध्यक्षहरु, निर्वाचन समितिका प्रमुख लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।

अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न दोस्रो चरणको बन्द सत्रमा एनआरएनए यूकेका उपस्थित पन्जिकृत सदस्यहरुले संघका गतिविधि, आर्थिक पारदर्शीता लगायत विषयमा ब्यापक छलफल गरे ।

कार्यक्रममा महासचिव फडिन्द्र भट्टराईद्वारा प्रस्तुत संगठनिक प्रतिवेदन यथेष्ठ छलफलपछि सर्वसम्मत पारित भएको छ । कोषाध्यक्ष तेजेन्द्र रोका मगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल पश्चात प्राप्त सुझावहरुको आधारमा आवश्यकता बमोजिम परिमार्जन हुने गरी सर्वसम्मत पारित भएको महासचिव भट्टराईले जनाए ।

एनआरएनए यूके, राज्य समन्वय परिषदहरुको हकमा आसन्न निर्वाचनको सम्बन्धित राज्य परिषदका बिभिन्न पदमा उम्मेद्वारी मनोनयन शुल्क बापतको रकम सम्बन्धित राज्य परिषदलाई नै प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

राज्य परिषद पदका उम्मेदवारहरुको मनोनयन शुल्क राष्ट्रिय समन्वय परिषदमा भुक्तानी भइसकेको खण्डमा सम्बन्धित राज्य परिषदलाई नै प्रदान गरिने छ ।

कार्यसमिति सदस्य ज्ञानेन्द्र आलेद्वारा प्रस्तुत एक उपाध्यक्ष पदमा गोर्खा समुदायको आरक्षण राख्नु पर्ने प्रस्तावित कार्यपत्रमा व्यापक छलफल पश्चात विधान मस्यौदा प्रस्ताव टेबल नभएको परिस्थितिजन्य अवस्थामा यो महाधिवेशनले ऐतिहासिक रुपमा राखिएको उपरोक्त प्रस्तावलाई सकारात्मक रहेको सुझाव सहित आगामी कार्यकालमा विधान समितिले प्राथमिकताका साथ संशोधन प्रस्ताव पेश गर्ने गरी अनुमोदन गरेको छ ।

सन् २०२१ –२३ को आगामी कार्यसमितिले विधान मातहतमा रहेर एक उपाध्यक्षलाई भूपू गोर्खा सम्बन्धि जिम्मेवारी प्रदान गर्न सक्ने छ ।

बन्द सत्रमा संघका उपाध्यक्ष, सचिव लगायत पदाधिकारीहरुले वर्तमान कार्यकालको आफ्नो जिम्मेवारी र विभागीय प्रगतिबारे अपडेट गराएका थिए । इंगल्याण्ड, वेल्स्, स्कटल्याण्ड र आयरल्याण्ड राज्य परिषदका अध्यक्षले राज्य परिषदका गतिविधिबारे अधिवेशनबारे ‘अपडेट’ गराएका थिए ।

महाधिवेशनले आसन्न जुलाई ३१ मा हुन गइरहेको संघको अनलाइन मतदानमा सहभागी हुन संघका सबै पन्जिकृत सदस्यहरुलाई आवहान गरेको छ । साथै महाधिवेशनले निर्वाचन सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न सम्बन्धित सबैलाई अपिल समेत गरेको छ ।

उद्घाटन सत्रमा कसले के भने ?
एनआरएनए यूके महाधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले अधिवेशनको सफलताको शुभकामना दिंदै एनआरएनए र दूतावास सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

उनले बेलायतको निजी क्षेत्र र सरकारका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमणका लागि दूतावासले काम गरिरहेको बताए । उनले नेपालको आर्थिक विकासको लागि मुख्य अजेन्डा बनाएर काम गर्न एनआरएनएलगायत बेलायतबासी नेपालीलाई आग्रह गरे ।

‘एनआरएनएको विश्वव्यापी प्रतिष्ठालाई अझ सशक्त बनाएर अघि बढ्न अनुरोध गर्छु’ उनले भने, ‘एनआरएनएले सुरुवात गरेको १० अर्बको लगानी मुलुकको आर्थिक समृद्धि र विकासको लागि कोशेढुंगा सावित हुनेछ ।’

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनआरएनए यूके संघको अभियानमा दरिलो खम्बाको रुपमा रहेको बताए । उनले महाधिवेशनलार्ई सम्बोधन गर्दै कोरोना महामारीका बेला बेलायतबासी नेपाली समुदायले खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले एनआरएनए यूकेको नेतृत्व अब्बल सावित भएको बताउँदै एनआरएनए यूकेको वर्तमान कार्यमिति सफल भएको बताए । उनले आगामी दिनमा गैरआवासीय नेपालीको नागरिकता र भूपू गोर्खाको समस्यामा केन्द्रीत रहेर संघले काम गर्ने जानकारी दिए ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले एनआरएनए स्थापना बेलायतबाटै भएको हुँदा एनआरएनए यूके विशिष्ठ राष्ट्रिय समिति भएको बताए । उनले एनआरएनए अभियानमा एनआरएनए यूकेको बिशेष भूमिका र महिमा रहेको बताए । उनले संघको अभियानमा संघले खेलेको भूमिका बिशिष्ट भएको बताउँदै एनआरएनए यूकेको प्रशंसा गरे ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले महाधिवेशनको सफलताका लागि शुभकामना दिंदै संघभित्र रुपान्तरण सुरुआत भइसकेको बताए । उनले संघको नेतृत्वमा समेत नयाँ पुस्ता रहेको बेला विशेष कार्यक्रम ल्याएको बताए । चुनाव हुने बेथितिलाई समाप्त गर्न एमआइएसमार्फत् सदस्यता वितरण सुरुआत गरिएको महासचिव शर्माको भनाइ थियो । उनले संघले अघि सारेका रुपान्तरणको अभियानले ल्याएको परिवर्तनको अनुभूति हुँदै गएको बताए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद समन्वय परिषद (आइसीसी) का सदस्य भक्त गुरुङले एनआरएनए यूकेले विगत दुई वर्षमा अस्मरणीय काम गरेको बताए । उनले गैरआवासीय नेपाली संघको उद्देश्य प्राप्तिको लागि सक्रिय रहेर काम गरेको बताए । उनले नेपालमा महामारीको बेला विदेशमा रहेका नेपाली एक जुट भएर एनआरएनएमार्फत स्वास्थ्य सामग्री पठाएर साझा संस्थाको रुपमा स्थापित गरेको बताए । उनले संघको निर्वाचनमा होमिएका उम्मेदवारहरुलाई आफ्नो सीमा र विधिविधानभित्र रहेर आफ्ना गतिविधि गर्न सुझाव दिए ।

आइसीसी सदस्य रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघ यूकेको आगामी कार्यकाललाई सहज रुपमा काम गर्ने वातावरण बनाउन आग्रह गरे । उनले विगतमा भएका कमीकमजोरीहरुलाई आत्मसमीक्षा गरेर अघि बढ्न सुझाव दिए ।

संघअन्तरर्गतको गोर्खा कार्यदलका संयोजक चन्द्रबहादुर गुरुङले गैरआवासीय नेपाली संघले भूपूगोर्खाहरुको नागरिकताको निरन्तरताको लागि सक्रिय रुपमा लागेर काम गरिरहेको बताए । उनले भूपू गोर्खाहरुको लागि नागरिकताको ग्यारेन्टी गर्न संघले सरकारलाई पत्राचार गरेको बताए । उनले एनआरएनए यूकेविरुद्ध बेलायती अदालतमा मुद्दा परेपछि संस्था रहने कि नरहेन भन्ने प्रश्न उठेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य दिदैं गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी अध्यक्ष पुनम गुरुङले गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न अथक प्रयास गरिरहेको बताइन् । उनले गैरआवासीय नेपाली संघप्रति जनविश्वास बढ्दै गएको बताइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्षहरु सूर्य गुरुङ, महेन्द्रराज कंडेल, योगकुमार फगामी, एनआरएनए केन्द्रिय सल्लाहकारहरु कुल आचार्य, विश्वआर्दश पण्डित, युरोप संयोजक नारायण आचार्य, प्रवक्ता डिबी क्षेत्री, सहसंयोजक कृष्ण तिमल्सिना, युवा संयोजक हिमाल गुरुङलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा पर्वतारोही निर्मल पूर्जालाई विशेष सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू