मंगलबार, चैत ६, २०८०
06:51 | १२:३६

कोभिड त्रासबीच पनि गोर्खाकपमा दर्शकको ओइरो, उपाधि ‘एलजी लायन्स’लाई

नेपाली लिङ्क जुलाइ २४, २०२१

लन्डन ।  बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो खेल इभेन्ट ‘गोर्खाकप’ को १९ औं संस्करण ‘एलजी लायन्स’ क्लबले जितेको छ ।  

तमुधिं यूकेको आयोजनामा आइतबार अल्डरसटको क्वीन्स् एभिन्यूमा सम्पन्न प्रतियोगितामा मुख्य विधातर्फ सहभागी कुल ३२ टीममध्ये सर्वोत्कृष्ट हुँदै ‘एलजी लायन्स’ ले उपाधि हात पारेको हो ।  

उपाधि जित्ने क्रममा हजारौं दर्शकमाझ खेलिएको प्रतिस्पर्धात्मक फाइनल खेलमा ‘एलजी लायन्स’ ले ब्रिगेड ब्वाइजलाई १ शून्य गोलको अन्तरले हराएको थियो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि थपिएको अतिरिक्त समयमा ‘एलजी लायन्स’ ले निर्णायक गोल गरेको थियो ।  

उपाधि विजेताले नगद २५ सय पाउन्डसहित ट्रफी र मेडल प्राप्त गर्‍यो । उपविजेता टीमलाई १५ सय पाउन्ड नगदसहित ट्रफी र मेडल, सर्टिफिकेट पुरस्कार प्रदान गरियो ।  

प्रतियोगिताको मुख्य विधामा उत्कृष्ट खेलाडीको पुरस्कार एजी लायन्स क्लबका ओलीले पाए । उत्कृष्ट म्यानेजरको पुरस्कार बीबीसीका दीपेन्द्र गुरुङले प्राप्त गरे ।  

उता, १० टीम सहभागी भेटेरान विधातर्फ फाइनलमा ब्रिगेड ब्वाइज क्लब ‘बीबीसी’ ईलाम एफसीलाई हराउँदै विजेता बन्यो । भेटेरानतर्फ विजेता र उपविजेतालाई क्रमश: नगद १२ सय पाउन्ड र ८ सय पाउन्डसहितको पुरस्कार वितरण गरियो ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि स्थानीय रश्मोर बरोका मेयर ब्रुश थोमस, विशेष अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, आयोजक तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ तथा पुरस्कारका प्रायोजकहरुले पुरस्कार, ट्रफी तथा मेडलहरु वितरण गरेका थिए ।  

प्रतियोगिताको फाइनल खेलअघि तमुधिं यूकेका संस्थापक तथा पूर्व अध्यक्ष र अग्रजहरुले ‘फेयर प्ले ब्यानर’ प्रदर्शन गरेका थिए । 

संक्षिप्त औपचारिक समारोहमा प्रमुख अतिथि स्थानीय रश्मोर बरोका मेयर ब्रुश थोमस र विशेष अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले शुभकामना मन्तव्य राख्दै गोर्खाकपले बेलायतको नेपाली समुदायलाई एकताबद्ध गर्ने काम गरेको भन्दै प्रशंसा गरे ।

आयोजक तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले कार्यक्रम सफल पार्न योगदान गर्ने सम्पूर्ण खेलाडी, सहयोगदाता, मिडिया एवम् समुदायलाई धन्यवाद ज्ञापन गरे । इभेन्ट संयोजक क्या. देव घलेले प्रतियोगिताबारे जानकारी गराएका थिए ।  

तमु धिं यूकेको आयोजनामा सन् २००३ देखि वर्षेनी हुँदै आएको गोर्खाकप कोभिड महामारीका कारण गत वर्ष हुन सकेको थिएन ।  

कोभिड त्रास, बिहानैदेखिको खराब मौसमका बाबजुद यसपटक गोर्खाकप हेर्न बेलायतभरबाट करिब ५ हजार दर्शक अल्डरसट पुगेका थिए ।  

कार्यक्रमस्थलमा दर्जनौंको संख्यामा राखिएका खाना, व्यवसाय तथा नेपाली सामग्री र च्यारिटी स्टलहरुमा सहभागीहरु झुम्मिएका देखिन्थे । कोभिड महामारीपछि प्रत्यक्ष आयोजना भएको पहिलो ठूलो कार्यक्रम भएकाले पनि सहभागीहरु लामो समयपछि आफ्ना साथीभाइ, इष्टमित्र भेट्न पाउंदा उत्साहित थिए ।  

कार्यक्रममा गायक सपनकुमार राई, सयपत्री कल्चरल ग्रुप, धौलागिरी नौमती बाजा लगायतका सांस्कृतिक प्रस्तुतिले पनि विशेष रौनक थपेका थिए । खराब मौसमका कारण ‘प्यारासुट डिस्प्ले’ कार्यक्रम भने स्थगित गरिएको थियो ।

कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्यक्रमस्थलमा विभिन्न सुरक्षा सतर्कता अपनाइएको थियो ।  

तस्विरहरु सौजन्य- एसके गुरुङ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू