बिहीबार, वैशाख १३, २०८१
11:39 | १६:२४

जूनकिरी र ओया इनिसियटिभ्सले ‘टि एण्ड टक’ सहित मनाए वार्षिकोत्सव

नेपाली लिङ्क जुलाइ २४, २०२१

लन्डन । केही वर्षदेखि बेलायत र नेपालमा निरन्तर परोपकारी कार्यमा संलग्न हुंदै आएको जूनकिरी इनिसियटिभ्सको छैंठौं वर्ष प्रवेश साथै यससंगै संलग्न सोसियल इन्टरप्राइजेज ओया इनिसियटिभ्सको पहिलो वार्षिकोत्सव कार्यक्रम भएको छ । शुक्रबार नर्थ होल्टस्थित गोल्डेनसीप रेस्टुरेन्टमा संस्थालाई निरन्तर सघाउ पुरयाउंदै आएका व्यक्तित्वमाझ ‘टि एण्ड टक’ नामक कार्यक्रमसहित वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा लकडाउन खुलेपनि पूर्ण र सहजरुपले जनजीवन सक्रिय नभइसकेको अवस्थामा संस्थालाई सहयोग पुरयाउने सबै शुभचिन्तकलाई आमन्त्रण गर्न असमर्थ रहेको जानकारी सहित संस्थाकी संस्थापक लक्ष्मी राईले कार्यक्रमको उद्धेश्य र अहिलेसम्म संस्थाका कार्यक्रम विवरणसहित छोटो ‘प्रेजेन्टेसन’ प्रस्तुत गरेकी थिइन् ।

अनौपचारिक उक्त कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी तथा नेपाल पर्यटन बोर्डका यूके दूत महन्त श्रेष्ठले बेलायत आगमनपछि आफ्ना शुरुवाती दिनका अनुभव शेयर गरे । उनले संस्थाको परोपकारी काम उदाहरणीय र अनुशरणयोग्य रहेको पनि बताए ।

‘नेपाली जीवन’ नामक सोसियल इन्टरप्राइजेजका डानियलले नेपालसंग उनको सम्बन्ध र सोसियल व्यवसाय शुरु गर्नुको उद्देश्यबारे भन्ने संक्षिप्त जानकारी दिएका थिए ।

नेपालसंग नजिक रहेर काम गर्दै आएकी सामाजिक अभियन्ता सोफी मिलिफांटले २०१५ को भूकम्पले उनको जीवनमा ल्याएको परिवर्तनसहित उनले नेपालमा ‘द कन्ट्री द्याट शक’ संस्था दर्ता गरेर नेपालका विभिन्न जिल्लामा शिक्षासंगै स्वास्थ्य सम्बन्धि कार्य गर्दै आएको अनुभव बांडेकी थिइन् ।

संयुक्त वार्षिकोत्सव कार्यक्रमको अन्त्यमा संस्थाकी अध्यक्ष लाराले जूनकिरी एवं ओया इनिसियटिभ्सको यात्रामा सघाउ पुरयाउंदै आएका शुभचिन्तकहरुलाई धन्यवाद दिइन् । उनले ओया इनिसियटिभ्सकी नेपालस्थित को–फाउण्डर परिना सुब्बा लिम्बुसहितको संयुक्त धन्यवाद ‘ए स्टार’ फाइनान्स, लन्डन पारागन कलेज, पिपल मोर्गेजसहित रवी फेमस एवं जिनी लन्डनका व्यवसायी रविन्द्रजंग लामिछानेले पछिलो समय ओया इनिसियटिभ्सको यात्रामा पुरयाएको सहयोगलाई विशेष धन्यवाद ज्ञापन गरेकी थिइन् ।

हालै रविन्द्रजंग लामिछाने र अर्का ब्यवसायी महन्त श्रेष्ठले जूनकिरी इनिसियटिभ्स अन्तर्गत धरानस्थित सुकुम्वासी वस्तीमा अवस्थित अनाथ आश्रममा बस्ने १० बालिकाको शिक्षाको लागि सहयोग पुरयाएका छन् ।

विशेषतः सामाजिक क्षेत्रमा अभिरुची एवं संलग्न भएका आमन्त्रित पाहुनामाझ अत्यन्तै छोटो र छरितो रुपमा नेटवर्क अनि जलपानसहित कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा जलपानका लागि अन्जना गुरुङ, शशी थापा सुब्बा र मेनका खांडसहित तास्निया नवाजको सौजन्य थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू