मंगलबार, वैशाख ११, २०८१
13:39 | १८:२४

बेलायतमा उत्कृष्ट हुने नेपाली सेनाका अधिकृतलाई सम्मान

नेपाली लिङ्क जुलाइ २०, २०२१

लन्डन ।  प्रशिक्षणका क्रममा बेलायतमा उत्कृष्ट बन्न सफल नेपाली सेनाका अधिकृत पिटर थापालाई लन्डनमा सम्मान एवम् बिदाइ गरिएको छ ।

सैन्य प्रशिक्षण पूरा गरी नेपाल फर्किन लागेका सेकेन्ड लेफ्टिनेन्ट पिटर थापालाई एनआरएनए यूके अध्यक्ष उम्मेदवार दीपक श्रेष्ठले बिदाइ गरेका हुन् ।  

प्लम्स्टिडस्थित श्रेष्ठको सम्पर्क कार्यालयमा मंगलबार साँझ एक संक्षिप्त कार्यक्रमबीच एनआरएनए इंग्ल्याण्डका अध्यक्ष समेत रहेका श्रेष्ठले खादा र पुष्पगुच्छासहित थापालाई सम्मान गरे ।  

त्यसअवसरमा एनआरएनए यूके अध्यक्ष उम्मेदवार श्रेष्ठले नेपाली सेनाका अधिकृत थापाले प्रशिक्षणका क्रममा बेलायतमा प्राप्त गरेको सफलताले देशकै गौरव बढेको बताए ।  

थापाको आगामी करियरका लागि शुभकामना दिंदै उनले नेपाली सेनाको अधिकृतका रुपमा उनले मातृभूमिलाई ठूलो योगदान पुर्याउंदै जाने विश्वास व्यक्त गरे ।  


सो अवसरमा सेकेन्ड लेफ्टिनेन्ट थापाले आफूप्रतिको सम्मान र सद्भावका लागि धन्यवाद ज्ञापन गरे । विदेशमा बस्ने नेपालीहरुले नेपालप्रतिको प्रेम र लगाव प्रशंसनीय पाएको अनुभव उनले सुनाए ।  

थापालाई एनआरएनए यूके महासचिव उम्मेदवार जीत रानाभाट, आइसीसी सदस्य उम्मेदवार एलएन पाण्डेसहित जीवन सेन, ह्यारी गुरुङ, मन्जु भण्डारी, सुरेन रुपाखेती लगायत अभियन्ताहरुले पनि सम्मान एवम् बिदाइ गरेका थिए ।  

प्रशिक्षणका लागि बेलायत आएका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट थापा वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमाण्डर्स ब्याटल कोर्स (पिसिबिसी) २००३ मा ‘टप इन्टरनेशल स्टुडेन्ट’ घोषित भएका थिए । 

गत १८ जनवरी २०२१ देखि ३० अप्रिल २०२१ सम्म भएको तीन महिने उक्त कोर्समा आयरल्याण्ड, कोसोभो, हंगेरी, स्कटल्याण्ड र नेपालबाट सैनिक अधिकृतहरु सहभागी थिए । 

यसअघि बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिमका क्रममा थापाले उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका थिए । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो ।

४४ साताको उक्त प्रशिक्षणमा विश्वका विभिन्न मुलुकका ३३ क्याडेट सामेल थिए । 

यसबाहेक थापाले प्लाटुन कमान्डर पास समेत पाएका थिए । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको हो । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमीस्यान्डहर्स्टस आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आउन सफल भएका हुन् ।

दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापाले बेलायतमा लिएको विभिन्न कोर्सले आफ्नो क्षमता अभिवृद्धि, बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर एवं विभिन्न देशका उच्च दर्जाका सैनिकहरुसंगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न पाएको बताउँछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू