बुधबार, वैशाख १२, २०८१
01:54 | ०६:३९

एनआरएनए स्कटल्यान्ड अध्यक्षमा व्यवसायी भण्डारीको उम्मेदवारी

नेपाली लिङ्क जुलाइ १९, २०२१

लन्डन । एनआरएनए यूकेको स्कटल्यान्ड राज्य समन्वय परिषदको अध्यक्षमा स्थानीय व्यवसायी काशिराम भण्डारीले उम्मेदवारी दिएका छन् ।  

उम्मेदवारी दर्ताका लागि तोकिएको समयभित्रै सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएको भण्डारीले नेपाली लिंकलाई जानकारी दिए ।  

एनआरएनए स्कटल्यान्ड परिषदमा हाल सल्लाहकार रहेका भण्डारी परिषदको संस्थापक कार्यसमितिमा उपाध्यक्ष थिए । गत निर्वाचनमा २ मतको झिनो अन्तरले उनी अध्यक्ष पदमा उपविजेता बनेका थिए ।  

अध्यक्षको उम्मेदवारी दर्ता गराएपछि नेपाली लिंकसंग भण्डारीले भने, ‘एनआरएनएको प्लेटफर्मबाट समुदायलाई सेवा गर्ने मेरो चाहना यसपटक स्कटल्यान्डवासी नेपालीहरुले पूरा गरिदिनुहुन्छ भन्ने मलाई विश्वास छ ।’ 

स्कटल्यान्डमा एनआरएनए अभियानलाई व्यापक पार्ने, निशुल्क सदस्यताका लागि पहल गर्ने, संस्थालाई पारदर्शी बनाउनेदेखि नेपाली नागरिकता निरन्तरता, नेपालमा विदेशी लगानी र पर्यटन प्रवर्द्धन् जस्ता एजेन्डाहरुमामा काम गर्ने उनको प्रतिवद्धता छ ।  

स्कटल्यान्डमा रेष्टुरेन्ट व्यवसायमा लोभलाग्दो सफलता हासिल गरेका भण्डारीले हालै होटेल व्यवसाय समेत शुरु गरेका छन् । स्थानीय स्कटिश समुदायसँग पनि राम्रो सम्पर्क र सम्बन्ध बनाएका उनले आफ्नो एक रेष्टुरेन्ट बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनबाट उद्घाटन गराएका थिए । उनकै पहलमा लन्डनस्थित नेपाली दूतावास समेतको सहभागितामा स्कटल्यान्डमा दुई वर्षअघि नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम पनि सम्पन्न भएको थियो ।

स्थानीय फाइफ नेप्लिज कम्युनिटीमा उपाध्यक्ष रहेका भण्डारी परोपकारी कामहरुमा पनि सधैं अगाडि छन् ।  

कोभिड महामारीका बेला स्कटल्यान्डका स्थानीय अस्पताल, फायर ब्रिगेड, स्कुल लगायतका क्षेत्रमा कार्यरतहरुका लागि उनले निशुल्क खाना बांडेका थिए भने विभिन्न संस्थाहरुको माध्यमबाट नेपालमा पनि सहयोग पठाएका थिए ।  

भण्डारीले आफ्नो गृहजिल्ला गुल्मी र नेपालका अन्य ठाउँमा पनि व्यक्तिगत स्तरबाटै नियमित रुपमा परोपकारी कार्यहरु गर्दै आएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू