शुक्रबार, चैत १६, २०८०
10:29 | १६:१४

ग्रीनवीच काउन्सिल र नेपाली समुदायबीच समन्वय गर्ने समूह सार्वजनिक गरिंदै

नेपाली लिङ्क जुलाइ १९, २०२१

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको लन्डनको ग्रीनवीच काउन्सिल र स्थानीय नेपाली समुदायबीचको समन्वयका लागि एक पहल शुरु भएको छ ।  

‘ग्रीनवीच नेप्लिज् कोअर्डिनेटिङ टीम’ (जीएनसीटी) नामको समूह मंगलबार साँझ आयोजना हुने एक भर्चुअल कार्यक्रममार्फत् सार्वजनिक गरिने भएको छ ।  

उक्त समूहको नेतृत्व गरिरहेका नेपाली युथ एशोसिएसन यूकेका अध्यक्ष लछुमन गुरुङका अनुसार जीएनसीटीले स्थानीय काउन्सिलसँग सरोकार राख्ने नेपाली समुदायका हरेक मुद्धाहरुमा काउन्सिलसँग समन्वय र सहकार्य गर्नेछ ।  

‘ग्रीनवीच काउन्सिलभित्र बसोबास गर्ने हामी नेपालीहरुको संख्या निकै ठूलो छ, हाम्रा आवश्यकता वा सरोकारका विषय पनि धेरै छन् । त्यस अवस्थामा स्थानीय काउन्सिलसँग प्रभावकारी समन्वय गर्न सकियोस् भनेर यो समूहको अवधारणा बनाइएको हो’- गुरुङले भने ।  

लछुमन गुरुङ, देवेन श्रेष्ठसहितका स्थानीय अभियन्ताहरुले अगुवाई गरेको यो समूहमा ग्रीनवीच काउन्सिलकै केही अधिकारीहरु समेतको संलग्नता छ । स्थानीय सम्पूर्ण नेपाली संघसंस्था र समुदायसँग परामर्श गर्दै अघि बढिरहेको समूहलाई स्थानीय काउन्सिलरहरुको पनि साथ छ ।  

केही महिनाअघिदेखि नै सक्रिय समूहले कोभिड महामारीको बेला स्थानीय काउन्सिलसँग मिलेर नेपाली समुदायको सहयोगमा विभिन्न कार्य गरिसकेको छ ।  

मंगलबार साँझ हुने भर्चुअल कार्यक्रममा प्रमुख अतिथिका रुपमा काउन्सिलर म्याथू मरो सहभागी हुनेछन् । त्यसअवसरमा समूहको अवधारणा, भावी योजना र विभिन्न प्रोजेक्टहरु समेत सार्वजनिक गरिने बताइएको छ ।  

कार्यक्रममा सहभागिताको लागि समूहका अभियन्ताहरुले ग्रीनवीच बरोस्थित नेपाली समुदायलाई आव्हान गरेका छन् ।  

कार्यक्रमको जुम लिंकका लागि यहां क्लिक गर्नुहोला 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू