बुधबार, वैशाख १२, २०८१
03:58 | ०८:४३

स्कटल्यान्डबाट एनआरएनए यूके उपाध्यक्षमा अर्यालको दावी, रोजिना समूहबाट उम्मेदवारी

नेपाली लिङ्क जुलाइ १८, २०२१

लन्डन । स्कटल्यान्डबाट एनआरएनएनए यूके उपाध्यक्षमा छविलाल अर्यालले उम्मेदवारी दिने भएका छन् ।  

एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदका वर्तमान अध्यक्ष अर्यालले केन्द्रीय समितिको उपाध्यक्ष पदमा उम्मेदवारी  दिन लागेका हुन् ।  

अर्याल एनआरएनए यूके अध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राईको समूहबाट उम्मेद्वार बन्न लागेका हुन् । 

‘अहिले मैदानमा देखिनुभएका अध्यक्ष पदका सबै दाबेदार योग्य र सक्षम हुनुहुन्छ । तर पनि अहिलेको समय, सन्दर्भ र एजेन्डाहरुका आधारमा स्कटल्यान्डवासी नेपालीले रोजिनाजीलाई समर्थन गर्ने निर्णय गरेका छन् । सोहीअनुसार उहाँलाई समर्थनसहित म उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छु’, उनले नेपाली लिंकसंग भने ।  

स्कटल्यान्डस्थित नेपाली समुदायका स्थापित र अगुवा अभियन्ता हुन् अर्याल । ग्लास्गो नेप्लिज् एशोसिएसनमा समेत अध्यक्ष रहेका उनले थुप्रै सामाजिक अभियानमा सक्रियतापूर्वक अगुवाई गर्दै आएका छन् ।  

एनआरएनए स्कटल्याण्ड राज्य परिषदका पहिलो निर्वाचित अध्यक्ष अर्यालको गत दुई वर्षे कार्यकाल सम्झनालायक रह्यो ।  स्कटल्यान्डमा एनआरएन अभियानलाई बिस्तार गर्न मात्र नभइ स्थानीय सम्पूर्ण नेपाली संघसंस्थालाई पहिलोपटक एकताबद्ध गरी सहकार्यको वातावरण समेत बनाउन उनी सफल रहे ।  

भारतद्वारा नेपालको सीमा मिचिंदा स्थानीय भारतीय हाई कमिसनको ढोका घच्घच्याउने कार्यदेखि कोभिड महामारीको संकटपूर्ण घडीमा स्कटल्यान्ड र सिंगो बेलायतभर समस्यामा परेका नेपालीको सहयोगार्थ प्रभावकारी अभियानको अगुवाई गर्दासम्म अर्यालले आफ्नो कुशल र संयोजनकारी नेतृत्व क्षमता प्रमाणित गरिसकेका छन् ।  

महामारीविरुद्धको लडाईंमा सघाउन स्कटल्यान्डवासी नेपालीका तर्फबाट नेपालमा अक्सिजन मेसिन एवम् अक्सिजन कन्सन्ट्रेटरलगायतका सहयोग पठाउने कार्य पनि उनकै पहलकदमीमा सम्पन्न भए ।  

एनआरएनए स्कटल्यान्डको सफल कार्यकालपछि अब एनआरएनए यूके केन्द्रीय समितिमा स्कटल्यान्डको प्रतिनिधित्व गर्दै उपाध्यक्षको जिम्मेवारी बोक्न उत्साहित छन् अर्याल ।  

‘म निर्वाचनको मुखमा ठूला-ठूला नारा र प्रतिवद्धताहरु बांड्न चाहन्न । तर जुन भूमिका र जिम्मेवारी पाउंछु, त्यसैमा इमान्दारीपूर्वक उत्रिने हरसम्भव कोशिश् गर्नेछु’, उनले भने, ‘एनआरएनए अभियानलाई स्कटल्यान्डसम्म ल्याइ पुरयाउने र जग बसाउने काम भएको छ । अब एनआरएनए यूकेमा स्कटल्यान्डको सहभागिता सुनिश्चित गराउँदै आम गैरआवासीय नेपालीका चासो र सरोकारका विषयहरुमा सक्दो योगदान गर्ने अठोटसहित अघि बढ्दैछु ।’ 

स्कटल्यान्डवासी नेपालीकै हौसला र प्रेरणाले सामाजिक क्षेत्रमा सक्रिय बनेको बताउने अर्यालले आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारीमा साथ, समर्थनसहित अमुल्य मत प्रदान गरी सहयोग गर्न सबैमा अपील गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू