बुधबार, वैशाख १२, २०८१
05:27 | १०:१२

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना पुष्टि

नेपाली लिङ्क जुलाइ १७, २०२१


लन्डन । बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदलाई कोरोना संक्रमण पुष्टि भएको छ । इंग्ल्याण्डमा जारी लकडाउन पूर्ण रुपमा खोल्न दुई दिन मात्र बाँकी रहंदा स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पोजिटिभ भएपछि उनी घरमै आइसोलेशनमा बसेको समाचारमा जनाइएको छ । यसअघिका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककको स्थानमा उनी भर्खरै मात्र स्वास्थ्यमन्त्री नियुक्त भएका हुन् ।

आफूलाई कोरोना पोजिटिभ भएको उनले भिडियोमार्फत संदेश दिएका छन् । कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका कारण उनको अवस्था सामान्य रहेको बताइएको छ ।

बेलायतमा हाल कोरोना संक्रमणको तेस्रो लहर शुरु भएको छ । शुक्रबार एकैदिन करिब ५२ हजार जना संक्रमित भएका थिए । संक्रमित संख्या दैनिक एक लाखसम्म पुग्नसक्ने विज्ञहरुले चेतावनी दिंदै आएका छन् ।

आउँदो सोमबारबाट इंग्ल्याण्डमा हाल लागू गरिएका लकडाउन सम्बन्धी सम्पूर्ण कानूनी प्रावधान अन्त्य गरिने प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरिसकेका छन् । यद्धपि सार्वजनिक यातायातलगायतका स्थानहरुमा भने मास्क अनिवार्य गरिने भएको छ ।

बेलायतमा दुई तिहाइ भन्दा बढी अर्थात ६७.५ प्रतिशत वयस्कहरुले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् भने ८७.६ प्रतिशतले खोपको पहिलो डोज लिएका छन् । खोपका कारण संक्रमणदर बढेपनि मृत्युदरमा भने वृद्धि भएको छैन ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को पछिल्लो तथ्यांक अनुसार बेलायतमा ८ करोड १७ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ। जसमध्ये चार करोड ६१ लाख ५९ हजार १४५ जनाले पहिलो र तीन करोड ५५ लाख ४३ हजार ३२१ जनाले दोस्रो डोज लगाएको तथ्यांकमा उल्लेख छ ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि सामान्य वृद्धि हुदै गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू