बुधबार, वैशाख १२, २०८१
11:08 | १५:५३

बेलायतमा एकैदिन झन्डै ५२ हजार संक्रमित, अस्पताल भर्ना हुने पनि बढ्दै   

नेपाली लिङ्क जुलाइ १६, २०२१

फाइल तस्विर

लन्डन – बेलायतमा पछिल्लो समय कोरोना संक्रमणदर अत्यधिक रुपमा वृद्धि भएको छ । शुक्रबार सार्वजनिक तथ्यांक अनुसार एकैदिनमा झन्डै ५२ हजार नयाँ संक्रमित थपिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार २४ घन्टामा ५१ हजार ८७० नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या अघिल्लो हप्ताको तुलना करिब ४५ प्रतिशतले वृद्धि भएको हो ।

यो संख्या गत जनवरीयताकै उच्च्च हो । यससंगै बेलायतमा कुल संक्रमितको संख्या ५३ लाख ३२ हजार ३७१ पुगेको छ । इंग्ल्याण्डमा जारी लकडाउन खुल्न दुई दिनमात्र बाँकी रहँदै गर्दा संक्रमित संख्या दैनिक उकालो लाग्दै गएको हो ।

आउँदो सोमबारबाट इंग्ल्याण्डमा हाल लागू गरिएका लकडाउन सम्बन्धी सम्पूर्ण कानूनी प्रावधान अन्त्य गरिने प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरिसकेका छन् ।

यद्धपि सार्वजनिक यातायातलगायतका स्थानहरुमा भने मास्क अनिवार्य गरिने भएको छ । 

यसैगरी पछिल्लो २४ घन्टामा थप ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन ६३ संक्रमितको मृत्यु भएको थियो । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख २८ हजार ६४२ जनाको मृत्यु भइसकेको छ ।

बेलायतमा दुई तिहाइ भन्दा बढी अर्थात ६७.५ प्रतिशत वयस्कहरुले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् भने ८७.६ प्रतिशतले खोपको पहिलो डोज लिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को पछिल्लो तथ्यांक अनुसार बेलायतमा ८ करोड १७ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ। जसमध्ये चार करोड ६१ लाख ५९ हजार १४५ जनाले पहिलो र तीन करोड ५५ लाख ४३ हजार ३२१ जनाले दोस्रो डोज लगाएको तथ्यांकमा उल्लेख छ ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि सामान्य वृद्धि भएको छ । 

पछिल्लो तथ्यांक अनुसार एक दिनमा ७१७ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या तीन हजार ९६४ र भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ५५१ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू