शुक्रबार, वैशाख ७, २०८१
22:25 | ०३:१०

खोल ओढेर बांचेकाहरु

अञ्जु भण्डारी जुलाइ १५, २०२१

भाडा माझ्दै थिएं । चार्जमा जोडेको मोबाइलमा आएको घन्टीले भुइचालो आएं झैं काप्न थाल्यो भान्छाको कप्बोर्ड । यस्तै हुन्छ भनेर म प्राय फोन साइलेन्टमा नै राख्छु तर आज कताबाट ? अं ! सांच्ची दिउसो डाक्टरको फोन आउने भएकाले पो ‘अन’ गरेको । आजभोलि कोभिड कहरले बेलायतको हालखबर यस्तै छ । शरीरमा लागेको रोगको उपचार पनि फोनमा नै हुन्छ ।

फोन उठाउंछु भनेर हतार हतार हात धोएर पुछ्दा पुछ्दै घन्टी सिद्धियो । आमाको रैछ मेसेन्जरमा, फोन गरेको उठेन, उफ्स नेपालको नेटवर्क । आफू आमा नबनी आमाको माया बुझ्न सकिंदो रैनछ । जब बुझें ढिलो भइसकेको थियो । विदेशमा २ वटा छोरी जन्माउने हुर्काउने, काममा जानु पर्ने, जिम्मेवारीले यसरी बांध्यो कि चाहेको बेलामा आमा भेट्न जान त सकिन सकिन, कहिलेकाहीं त व्यस्तताले गर्दा आमासंग फोनमा कुरा गर्ने मेसो पनि पर्थेन । सायद त्यही बुझेर होला सधैं आमा आफैंले नै फोन गर्नु हुन्थ्यो र सम्झाउनु हुन्थ्यों – ‘पहिला आमा हुनुको कर्तव्य राम्रोसंग निभाउ अनि फेरी छोरी बनौली ।’ सांच्चै छोरी मात्र बन्न कति सजिलो छ घरि घरि छातीमा टासिन आउने छोरीतिर हेरेर अनुमान लगाउंछु म ।

आमाको फोनको प्रतिक्षामा फेसबुकतिर आंखा दगुर्न थाले । म्यासेजको रातो रंग फेसबुकले दायांतिर देखायो ।

हुन त यति बेला विदेशिएका नेपाली बीचमा एनआरएनको चुनाव निकै लागेको छ । नेपालमा वर्षायाममा खहरे खोलामा आउने भेल बाढी जस्तै फेसबुकमा फ्रेन्ड रिक्वेष्ट र म्यासेजहरुको बाढी नै आउंछ यति बेला । फेरी केहि समय पछि यो बाढी थामिन्छ वर्षा पछिको खहरे जस्तै । थाहा छैन् यो एनआरएनको भेल बाढीले कतिको आफ्नोपन र भाइचारा सम्बन्ध बढार्ने हो त्यो पनि कहिल्यै हराभरा नहुने गरि । कतिको ह्दयमा घाउ लाग्ने हो कहिले नपुरिने गरि ।

छाती माथि हात राखेर भन्नु परयो भने विदेशिएका नेपालीबीचको फाटो केहीले ल्याएको छ भने यही एनआरएन, विभिन्न संघसंस्था, पार्टीका भातृ संस्था, झन् अहिले त हुंदा हुंदा यो नेता, त्यो नेताको समर्थक रे । यस्तै यस्तै समर्थकले नेपाली देश देखि विदेशसम्म चोइटिएका छन् कहिले नजोडिने गरि ।

बेलायतमा नि यतिबेला एनआरएन चुनाव गरमगारम 
संग चलेको छ । नेपाली राजनीतिको बिंडो धानेका छन् अहिलेका एनआरएन नेताहरुले । विरासतमा ल्याएका छन् राजनीतिक गुण । अझ भन्नु पर्दा नेपालमा फर्केर राजनीति गर्न पाए भने नेपालका नेताहरुको हजुरबा भएर निस्कनेछन् ‘लाज्निती’ गर्न ।

सामाजिक संजालको वहस हेर्दा त लाग्छ यिनीहरु आमुन्ने सामुन्ने परे सांच्चै के गर्लान है ? कुस्तिनै खेल्लान् । हुन् त यति बेला बोरिस ब्रोले लगाएको कोभिड नियमले गर्दा त्यो चाहिं अलि सम्भव नहोला । तर, पनि पाखुरा सुर्काउंदै ‘यो चोटी बंचिस् अर्को चोटी भेटें भने तंलाई छोड्दिन’… मुख छोड्न चाहिं पछि 
पर्दैनन्, आखिर सबै विरासतबाट आउने न रहेछ ।

मेरी प्यारी दिदीको म्यासेज रैछ, क्लिक गरें महिला संयोजकमा उमेद्वारी दिनु भएको रैछ । झन्डै २४ वर्ष भयो उहांलाई चिनेको पनि । ११-१२ वर्षको थिएं होला, ५ पास भएर ६ कक्षा जाने तयारी हुंदै थियो । आफूले पढिरहेको स्कुल अनि आफ्नो गाउं सब छोडेर 
अर्को गाउं जानु पर्दथ्यो माध्यमिक शिक्षाका लागि । हिंड्ने गोरेटो देखि स्कुलका भवन, कक्षा कोठा मात्र होइन सबै नौला थिए हाम्रा लागि । त्यसैले मनमा अलिकति डर भरिएको थियो ।

एकदिन बिहान घर नजिकैको राप्ती खोलामा बोटेहरुले माछा मार्न जांदा महिलाको लास देखे रे । गाउंमा कुरा हावाले पनि पुरयाउंछ ।

हामी खोला छेउ पुग्दा २००-३०० जना मान्छे जम्मा भइसकेका रैछन् । अरु पनि थपिने क्रम जारी थियो । चैते दशैंमा विक्रम बाबाको पूजा गर्न जांदा पनि यती भिड देखेको थिइन् मैले ।

लास खोलाको छेउमा तैरिरहेको थियो । हामी पुगेको एकैछिन पछि पुलिस पनि आइपुग्यो । लास उठाएर खोला छेउ ढुंगामाथि राखियो । हेर्दा १८-२० वर्षको जति देखिने कालो रंगको सारीमा कालै रंगको झोला, जुरुक्क उठेर बोल्ला जस्तै अनुहार, दियो जस्तै भर–भराउंदो गरि बलेको थियो । खोला तर्दा डुबेर मरेको होला, धेरैले अड्कल गरे । डुबाउने पानी कहां छ र खोलामा ? फेरी अर्का थरीले अड्कल गरे ।

त्यसको एक हप्ता पछि अर्को खबर उड्यो गाउंमा- खोलामा भेटिएको लास डुबेर नभई मारेर फालिएको रे । त्यो पनि बिहेमा दाइजो नल्याएकाले ।

सात जन्म संगै बाच्ने संगै मर्ने भन्ने कसम खाएर बिहे गरेकाले बिहे गरेको ७ महिनामा नै एक तोला सुन र केहि फर्निचरका लागि कसैको प्राण हरण गरिदिन्छ मान्छे । आफ्नै ठाउं आफ्नै गाउंमा एउटी पराइ छोरीको जीवन सिद्धिएको छ । एउटी आमाको काख उजाडिएको छ, बाबाको सपना तुहिएको छ, घरमा मखमली फुल्ने छैन् अब । भाइको निधार खाली भएको छ । सायद त्यही दिन देखि होला मलाई कसम खाने मान्छे देखेर विश्वास होइन झन् शंका लाग्छ ।

आशा पहाडबाट बिहे गरेर आएकी थिइन् आफ्नो गृहस्थी बसाउन । तर, पापीले उनको प्राण नै खोसिदिए केहि थान फर्निचरका लागि । जिन्दगी भरि दुःख गर्छ, टाउको लुकाउने छानो जोड्छ, भात खानलाई खेत जोड्छ र त पुग्दैन, सन्तुष्ट हुन् सक्दैन् । अनि त्यही मान्छे अरुले दिएको एउटा पलंगमा कति रात सुकुनको निद्रा निदाउन सक्छ र ? रयाल काट्छन् अरुको सम्पतिमा ।

उनलाई न्याय मिलेको छ त यिनै दिदीका कारण मिलेको छ । आशालाई मात्र होइन् हामी हुर्कदै गरेको छोरीहरुलाई पनि डर मुक्त जिन्दगी बांच्न सिकाइन् । राम्रो, नराम्रो छुट्टाउन सक्ने बनाइन् ।

आफूलाई चिन्यौं, आत्मनिर्णय गर्ने सक्ने भयौं त्यो पनि छोरी भएर । न निरिह भएर बांच्न परयो, न बराबरीको नाममा छोरा जस्तो भएर बांच्न परयो । हामी स्वतन्त्र भयौं आफैंले कोरेका सीमारेखाबाट । आकाश हेरेर कल्पिन जान्यौं । जून हेरेर प्रेम गर्न सिक्यौं । ताराहरु हेरेर सपना देख्न सिक्यौं । आफू भित्रका इन्द्रेणी देखेर दंग परयौं । अनि आजसम्म त्यही इन्द्रेणीको सप्तरंगी पखेटा लगाएर उडिरहेछु म आफ्नै सपनाको आकाशमा ।

त्यसपछि दिदी हराइन् । कता हराइन्, किन हराइन कुनै सुईंको थिएन् । स्कुल सिद्धियो, क्याम्पस सुरु भयो । दिदी पनि हाम्रै क्याम्पसको भूपू विद्यार्थी रैछन् र बिहे पनि भैसकेछ ।

इन्द्रेणी जस्तो मेरी दिदीको जीवनमा सिन्दुरको रंगले कति चमकता भरिदियो होला, कति चम्किन होला सिन्दुर भर्दाको त्यो क्षणमा तर यो चमक देखे भन्ने कोहि भेटिन मैले ? उनको विवाहित जीवन फलोस् फुलोस् मनमनै कामना गरें हाम्रो लागि मात्र नभई अर्को जीवनमा पनि इन्द्रेणी भर्न जाने मेरी प्यारी दिदीलाई ।

सायद बिहे गरेपछि आइमाइको भविष्य त्यही सिउंदोको सिन्दुरले निर्णय गर्छ के रे । दिदी गुमनाम भइन्, 
वर्षौंसम्म उनको नाम न कतै कसैले उच्चारण गरयो न आफ्नै देखा परिन् । हुन त अहिले जस्तो ‘सोसियल साइट’ नभएर पनि होला दिदी गुमनाम देखिएकी ।

जे होस् दिदी विस्तारै मानसपटलबाट हराउंदै गइन् । हुन त आफ्ना सपनाहरु पनि आंखाबाट ओझेल पर्दै जान्छन् अरुको त के कुरा भयो र ?
बिहे भयो, नयां घर नयां ठाउं सबैजना नयां, मात्र ति दिदी थिइन् धमिलो यादमा तर तिनी पनि नयां साइनो लिएर आइन् नयां घरमा ।

घर भित्रकै नभए पनि एकदम नजिकको साइनो थियो उनीसंग परिवारको । तर, दिदीलाई त्यहां पनि देख्न पाइन, विदेश गइसकेकी रैछिन् । बिहे भएको केहि समय पछि विदेश लागें म पनि श्रीमानसंग उनै दिदी बसेको देशमा ।

पारिवारिक सम्बन्ध नजिकको भए पनि व्यक्तिगत रुपमा नजिक हुन सकिन म उनीसंग । दिदीप्रति यति धेरै गुनासा थिए जुन कहिले दिदी सामु पोख्न सक्थिन । सायद केहि गरि पोखे भने पनि दिदीसंग यसको उत्तर थिएन ।

कुनै बेला आदर्शको मूर्ति अनि मार्गदर्शन भएर आएकी दिदीसंग कहिलेकाहीं हाई हेल्लो… बाहेक केहि भएन ।

यता आएर पनि उनी महिला सम्बन्धि लेखहरु लेखिरन्थिन् । महिला अधिकारको बारेमा कुरा गर्थिन्, महिला अघि बढ्न नसेकोको पुरुष समाजले गर्दा हो भन्थिन् । उनका हरेक लेख पुरुष विद्रोही नै हुन्थे । एक गन्य मान्य नारी अभियन्ता थिइन् उनी यहांको नेपाली समुदायमा ।

सायद त्यसैले होला उनी यस चोटी एनआरएनमा महिला संयोजकका लागि उमेद्वारी दिएकी रैछिन् । उनका एजेन्डाहरु थिए–’महिला अधिकारको सुनिश्चता । हरेक कार्य क्षेत्रमा महिला र पुरुष बराबरी ।’

यसपछि मलाई पढ्न मन लागेन । दिदी कता कता झुट्टी जस्तो लाग्थ्यो । बोली एउटा ब्यबहार अर्को । नारी अधिकारको कुरा गरेर कहिले नथाक्ने कसरी अर्को नारीको सिन्दुर खोसिन ? यति धेरै पुरुष विद्रोही दिदी कसरी पराइ पुरुषको अंगालोमा आफूलाई बिसाइन् ?

यस्तै कार्यक्रममा हिंड्दा खेरि दिदीको भेट दाईसंग भएको रहेछ । त्यति बेला दाइ विवाहित हुनुहुन्थ्यो । यो सबैबाट बेखबर थिइनन् दिदी । र पनि यतिमा 
रोकिइनन् उनी ।

दाईलाई माया गरिन्, आफ्नो बन्दै गरेको करियरलाई दाउमा लगाइन्, भन्छन् नि- प्रेममा सबै कुरा जायज हुन्छ । दिदीले ति सबै गरिन् जुन नाजायज थिए समाजका लागि ।

दाईको श्रीमतिले कसैगरी छोडपत्र दिने छैनन्, झन् उतिबेला उनी आमा बन्दै थिइन् । यो सब थाहा थियो दिदीलाई र त उनले नाटक रचिन् । दाइलाई पढ्न भनेर बेलायत पठाइन् अनि केहि महिना पछि आफू पनि कार्यक्रमका लागि भनेर आएर यतै बसिन दाईसंगै ।

उता केहि समयपछि नेपालमा दाइको छोरी जन्मिइन् तर दिदीले छोरीको न्वारन समेत गर्न जान दिइनन् ।

पुरुषविरुद्ध सधैं आगो ओकल्ने दिदी कसरी पराइ पुरुषको अंगालोमा पानी बनेर पग्लिन् । छोरीलाई सधैं सक्षम बनाउन पर्छ भन्ने दिदी कसरी एउटी बच्चीको टाउकोबाट बाबाको हात खोसिन् । स्वास्नीबाट लोग्ने मात्र होइन, अवोध बच्चीको छहारी खोसिन् । बाबुको स्नेह खोसिन् । एक्लै हिंड्न छोड्दिइन् यो दुष्ट समाजको बीचमा ।

त्यो छोरीले के खाई, के लगाइ, कति पढी, कसरी हुर्की, एउटी आइमाइले कसरी दुःख गरेर पढाइन् न आफूले कहिले जान्न चाहिन्, न कहिले श्रीमानलाई त्यो छोरीसंग कुनै सम्बन्ध बनाउन दिइन् ।

आज त्यही छोरी डाक्टर पढ्दैछ । कसैले बाबा खोइ भनेर सोध्यो भने आफ्नो ठूलो बुवालाई देखाउंछे ।

सायद उनलाई गर्व लाग्ला आफ्नो प्रेम सफल बनाइन् त्यो पनि विवाहित पुरुषसंगको । तर, उनले नारी समानतामा काम गर्ने आफ्नो धरातल गुमाइसकेकी छिन् । जबसम्म उनीबाट पीडित नारीलाई न्याय मिल्दैन तबसम्म उनले उठाउने नारी अधिकारको नारा मात्र एक भजन हुनेछ ।

हाल पिटरबरो, बेलायत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू