शनिबार, वैशाख ८, २०८१
17:08 | २१:५३

संसद विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

नेपाली लिङ्क जुलाइ १२, २०२१

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गराएको संसद विघटन बदर गरिदिएको छ ।  

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरातमा विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्चले पुनर्स्थापना गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश समेत जारी गरेको छ ।

सर्वोच्चको आदेशमा देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ ।

यसअघि १ सय ४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै सर्वोच्चको इजलासले  संसद विघटन बदर एवम् देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको हो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका साथै न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए ।  

अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठकले बोलाउनसमेत भनेको छ ।

गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू