बिहीबार, चैत १५, २०८०
14:48 | २०:३३

बेलायतमा संक्रमणदर एक सातामा ३० प्रतिशत वृद्धि

नेपाली लिङ्क जुलाइ १०, २०२१

लन्डन– बेलायतमा पछिल्लो एक हप्ताभित्र दुई लाख १३ हजार भन्दा बढी नयाँ संक्रमित पुष्टि भएको छ । यो संख्या अघिल्लो हप्ताको तुलनामा झन्डै ३० प्रतिशत बढी हो । पछिल्लो चार दिनसम्म लगातार दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

हिजो शुक्रबार ३५ हजार ७०७ जना संक्रमित भएकोमा शनिबार ३२ हजार ३६७ जनामा संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ५० लाख ८९ हजार ८९३ पुगेको छ ।

यो संख्या जनवरी २२ यताकै उच्च हो । इंग्ल्याण्डवासीले लकडाउनबाट मुक्ति पाउन एकहप्ता मात्र बाँकी रहंदा संक्रमित संख्या भने निरन्तर उकालो लागिरहेको छ । लकडाउन खुल्ने दिन जुलाइ १९ सम्ममा दैनिक संक्रमित संख्या ५० हजारसम्म पुग्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । त्यस्तै बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पनि संक्रमित संख्या दैनिक एक लाखसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोनाबाट एक लाख २८ हजार ३९९ जनाको निधन भइसकेको छ ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार एक दिनमा ५६३ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या दुई हजार ७३१ रहेको स्वास्थ्य विभागले जानेको छ । भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ४१७ छ ।

बेलायतमा ८ करोड तीन लाख २७  हजार ६७९ डोज खोप वितरण भइसकेको छ, जसमध्ये चार करोड ५७ लाख ८६ हजार ५५० जनाले पहिलो र तीन करोड ४५ लाख ४१  हजार १२९ जनाले दोस्रो डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू