शनिबार, वैशाख ८, २०८१
03:18 | ०८:०३

९ बुंदे प्रतिवद्धतासहित रोजिनाले गरिन् अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली लिङ्क जुलाइ १०, २०२१

लन्डन– एनआरएनए यूके उपाध्यक्ष रोजिना प्रधान राईले २०२१- ०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छन् । शुक्रबार सांझ भर्चुअल समारोहमार्फत उनले आफ्नो ९ बुंदे घोषणा पत्र सार्वजनिक गर्दै एनआरएनए यूकेको पारदर्शिता, प्रविधिमैत्री र एकताका लागि पूर्ण प्रतिबद्धता जाहेर गरिन् ।

गोर्खा सैनिक आन्दोलनमा साथ, सानाठूला तथा सामूहिक लगानी प्रवर्धन, पर्यटन प्रवर्धन र व्यापार, आपतकालिन कोष स्थापना, नेपाली भाषा संस्कृति, भेषभूषाको प्रर्वधन, आर्थिक स्थायित्व, एनआरएनए यूके सीप बैंकको स्थापना, नेपाली नागरिकताको निरन्तरता, स्मार्ट एनआरएनए, निशुल्क सदस्यता– स्थायी सचिवालय स्थापना लगायत प्रतिवद्धता उनका छन् ।

(घोषणापत्रको पूर्णपाठ तल हेर्नुहोस्)

बेलायतस्थित प्रभावशाली नेपाली संघसंस्थाका प्रमुखहरुको आर्शीवाद र समर्थनको प्रतिवद्धता पाएपछि झन् उत्साहित देखिएकी रोजिनाले घोषणा सभामा सालिन भएर परिपक्व अठोट सार्वजनिक गर्दा सहभागीले उनको ज्यादै प्रशंसा गरेका थिए । सहभागी वक्ताहरुले महिला जिम्मेवारप्रति बढी संवेदनशील र कटिवद्ध हुने उल्लेख गर्दै यसपटक रोजिनालाई जिताउन आफूहरुले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

अर्थवीद डा. मुकुन्द बास्तोलाले सञ्चालन गरेको उक्त घोषणासभामा लन्डन हन्स्लो मेयर विष्णु गुरुङ, बार्नेट उपमेयर लक्ष्य गुरुङ, काउन्सिलरहरु जीव बेल्वासे र नेम थापा, तमुधिं यूके अध्यक्ष हितकाजी गुरु, मगर संघ यूके अध्यक्ष सुनिल राना, सोसाइटी अफ नेपलिज इन्जिनियर्स एसोसिएसन यूके अध्यक्ष संयुक्त श्रेष्ठ, बिजिडब्लुएस् यूके अध्यक्ष मेजर रि. टिकेन्द्रदल देवान, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, गेसो कार्यवहाक सभापति धर्म तामाङ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, किरात राई यायोख्या यूके अध्यक्ष कल्पना राई, फोनिज यूके अध्यक्ष प्रमिला लाबुङ राई, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष रामधन राई, पासा पुचः गुथि यूके केन्द्रिय अध्यक्ष ओजेश सिंह, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी अध्यक्ष जीत रानाभाट, बुद्धिजिवी शिवजी श्रेष्ठ, एनआरएनए यूके निवर्तमान उपाध्यक्ष शेरबहादुर सुनार, एनआरएनए यूके निवर्तमान सचिव तारानाथ भण्डारी, एनआरएनए यूके नर्दन आयरल्याण्ड अध्यक्ष नारायण कुंवर, एनआरएनए यूके स्कटल्याण्ड अध्यक्ष छविलाल अर्याल, एनआरएनए यूके सल्लाहकार नारायण फुयाल, स्कटल्याण्ड नेपाली समाज यूके अध्यक्ष विजय डंगोल, साझा नेपाली समाज मिडल्याण्ड अध्यक्ष कृष्णप्रसाद शर्मा, पिटरबरो नेपाली समाज यूके अध्यक्ष हरिहर भट्टराई, पासा पुचः गुथि अल्डरसट शाखा अध्यक्ष केशव श्रेष्ठ, पासा पुचः गुथि रेडिङ शाखा अध्यक्ष जानकी कायस्थ, तमुधि यूके पूर्व अध्यक्ष ज्ञाम गुरुङ, सहारा यूके उपाध्यक्ष कुसाङ गुरुङ, किरात राई यायोख्या बेलायतका पूर्व अध्यक्ष पदम राई, समाजसेवी लाल सुन्दर राई, लिभरपुल नेपाली समाज यूकेका देउमान इजम, साझा नेपाली समाज मिडल्याण्डका निवर्तमान अध्यक्ष महेश अधिकारी, पत्रकार बाचस्पति रेग्मी, तिलक भट्टराईलगायत सहभागी भएर पूर्ण सहयोग गर्ने अठोटसहित शुभकामना दिएका थिए ।

खोटांग सेवा समाज यूकेका अध्यक्ष एवं रोजिनाको निर्वाचन अभियान संयोजक वुद्धिजिवी डा. प्रमोद कोयीले स्वागत मन्तव्य दिएपछि रोजिनाको व्यक्तित्व, संघर्ष र सफलताबारे भिडियो प्रिजेन्टेसन समेत दिइएको थियो ।

घोषणापत्रको पूर्णपाठ-

गैरआवासीय नेपाली संघ

यूके निर्वाचन – २०२१

प्रविधिमैत्री, पारदर्शिता र एकता

रोजिना प्रधान राईको प्रतिवद्धता

अध्यक्षमा म नै किन ?

आदरणीय आमाबुबा, दाजु भाई, दिदीबहिनी- शुभचिन्तक

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १९ वर्षको अवधिमा धेरै रचनात्मक र गौरवशाली काम गरेको छ । विश्वका ८३ देशमा संघका राष्ट्रिय समन्वय परिषद्हरूमध्ये गैरआवासीय नेपाली संघ यूके पनि यस अभियानमा एक महत्वपूर्ण हिस्सेदारको रुपमा सक्रिय हुंदै आएको छ ।

नेपाल बेलायतबीच २ सय वर्ष भन्दा लामो कूटनीतिक सम्बन्ध छ । यो बीचमा हजारौँको संख्यामा भूपू गोर्खा लगायतका नेपालीहरुले बेलायतमा स्थायी बसोबास गर्दे आएका छन् । करिब १ लाख ८० हजारको हाराहारीमा बेलायतमा नेपालीहरु रहेता पनि करिब ८० हजारको संख्यामा बेलायती नागरिकता लिँदा आफ्नो मातृभूमिसँग जोड्ने नागरिकताविहीन हुनु परेको छ ।

विगतका दिनमा गैरआवासीय नेपाली संघ यूकेले गैरआवासीय नेपाली नागरिकताको संवैधानिक व्यवस्था अनुरुप थप कानून र कार्यविधि बनाउन माग गर्दे आएको छ । विदेशबाट ज्ञान, अनुभव र सीप भित्र्याउन पनि गैरआवासीय नेपाली संघ यूकेको तर्फबाट संस्थागत प्रयास भएका छन् । संघमार्फत विभिन्न सामाजिक र परोपकारी कार्यमा योगदान र पहल भएका छन् । नेपालमाविभिन्न क्षेत्रमा गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी बढ्दो छ ।

विश्वव्यापी महामारीको रुपमा आएको कारोना भाइरसको कारणले पीडित नेपालीहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघले खेलेको महत्वपूर्ण भूमिकाको कारणले समेत संघ आज नेपाल र नेपालीबीच एक आशा र भरोसाको धरोहरका रुपमा खडा हुन सम्भव भएको छ । यसैबीच गैरआवासीय नेपाली संघ यूकेको ९ औं महाधिवेशन ३१ जुलाईमा हुने तय भएको छ ।

उपाध्यक्ष कार्यकालमा मैले गरेका महत्वपूर्ण कार्यहरुः

गैरआवासीय नेपाली संघको अभियानको सुरु कालदेखि नै कुनै न कुनै जिम्मेवारी र भूमिकामा रहेर प्रत्यक्ष–अप्रत्यक्ष रुपमा योगदान गर्न पाउनु विशेष गौरवको रूपमा लिएकी छु ।

परिभाषित जिम्मेवारीमा रहँदा वा सो पूर्व समेत संघको अभियानमा सक्रिय हुँदा बेलायतमा रहेका भूपू गोर्खाहरु, विद्यार्थी, संघसंस्था र नयाँ पुस्ताहरुलाई नजिकबाट हेर्ने र चिन्ने मौका पाएकी छु ।

आजसम्म गैरआवासीय नेपाली संघको अभियानमा तपाईंहरुले विश्वास गरी दिनुभएको जिम्मेवारीलाई मैले मन, वचन र कर्मले समर्पित भई पूरा गर्न प्रयत्नरत रहँदै आएकी छु ।

गत २०१९ को निर्वाचनमा मलाई उपाध्यक्षमा सर्वाधिक मत दिनु भई निर्वाचित गराउनु भए पश्चात यसको पूर्ण न्याय गरेको मेरो ठहर छ ।

कोरोना कहरमा समेत महिला सशक्तिकरण, कोरोनाका कारण असहज अवस्थामा रहेका विद्यार्थीहरुलाई सहयोग गर्ने जिम्मेवारीको नेतृत्व, संघसंस्थाहरुसंगको क्षेत्रगत समन्वय तथा अन्तक्रियाहरु, संघसंस्था प्रतिनिधि सभा (काउन्सिल बैठक) साथै मूल नेतृत्वलाई सिर्जनशील रही पूर्ण मद्दत गर्नु मेरो २ वर्षे कार्यकालको मुख्य उपलब्धि ठानेकी छु ।

उपाध्यक्ष पछि अध्यक्षमा मौका ?

मैले कठिन अवस्थामा समेत दरिलो रुपमा संस्थाको हितका काम गरेको छु । आगामी दिनमा समेत यहांहरुको विश्वास डग्मगाउन दिने छैन् । अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट निर्मित यो संस्थाको उचाइ वृद्धिमा लगाउनु मेरो कर्तव्य ठानेकी छु । कठिन अवस्थाको बीचमा निर्माण भएको नेतृत्व र कोरोना कहरबीच गुज्रिएको करिब डेढ वर्षमा यो नेतृत्वले जे जति गरयो गौरवको साथ भन्न सक्छौं – हामीले चुनौतीलाई समेत अवसरको रुपमा प्रयोग गरयौं र केही सकारात्मक नतिजा निकाल्न सफल भयो ।

कोरोनाको दोश्रो लहरले नेपालमा भएको त्रासदीमा २ हप्तामा करिब २ करोड ५० लाख भन्दा बढी रकम संकलन गरि अक्सिजन कन्सन्ट्रेटर तथा स्वास्थ सामाग्री पठाउन नेतृत्वले चुनौतीका साथ महत्वकांक्षी पहलकदमी लिँदा उपाध्यक्षको हैसियतमा पूर्ण र सक्रिय सहयोगीको रुपमा रहेँ । संस्थागत विकासमा नेतृत्वले लिनुपर्ने हरेक निर्णयमा दृढताको साथ रहनु, रचनात्मक कामहरुको सोचसहित कार्यकाल सफल बनाउन नेतृत्वलाई सहयोग गर्नु – नयाँ योजनाहरु र संस्थागत विकासमा मुख्य योगदान गर्नु मेरो अध्यक्ष बन्न मौकाको रुपमा लिएको छु ।

यिनै विगत र वर्तमानको मुल्यांकनको आधारमा आगामी जुलाईको अन्तिम साता हुने गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णयमा पुगेकी छु । एनआरएनए यूकेको साधारण सदस्यदेखि उपाध्यक्षसम्म हुँदा हासिल गरेको अनुभवका आधारमा सिंगो संगठनको नेतृत्व गर्नका लागि निम्न कार्ययोजना प्रस्तुत गरेकी छु ।

हामी सबैको हात, गोर्खा सैनिकको आन्दोलनमा हाम्रो साथ

नेपाल र बेलायतको कूटनैतिक सम्बन्ध औपाचारिक रुपमा स्थापना भएको २ सय वर्ष भन्दा बढी भएको छ । यो बीचमा नेपाल र बेलायतको सम्बन्ध निकै न्यानो बन्दै गएको छ तर नेपालीहरुले बेलायत सरकारको सैनिकको रुपमा काम गरेर पाउनु पर्ने समान पेन्सन र अधिकार पाउन सक्नु भएको छैन् । बेलायतको लागि रगत र पसिना बगाएका नेपालीहरु माथि वर्षौदेखि अन्याय र अत्याचार हुँदै आएको छ । अहिले बेलायतविरुद्ध भूतपूर्व ब्रिटिस गोर्खाहरुले आन्दोलनको सुरुवात गरेका छन् । समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागलाई सम्बोधन गराउनको लागि आवश्यक पहल गर्नेछु ।

सानाठूला तथा सामूहिक लगानी प्रवर्धनः समृद्ध मातृभूमि हाम्रो अभियान

स्वदेशको विकास र समृद्धिका लागि सम्पूर्ण गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी भित्र्याउन सानोदेखि ठूलो लगानीकर्तालाई प्रोत्साहन गर्न एनआरएनए यूके लगानी वर्षको रुपमा अभियानको सुरुवात गर्नेछु । बेलायतमा दुःख गरेर कमाएको सानो पूंजीलाई नेपालमा लागानी गर्न र नेपाली समुदायलाई ससाना व्यवसायमा प्रेरित गर्न विशेष कार्ययोजना एक परिवार एक उद्यमीको अवधारणा ल्याउने छु ।

आपतकालिन कोषको स्थापना

बेलायतमा नेपालीहरुलाई परेको दुःखमा मलम लगाउने उद्देश्यले यसअघि स्थापित आपतकालिन फण्डको अवधारणलाई अझ प्रभावकारी रुपमा अघि बढाउने छु । नेपालमा आइपर्ने प्राकृतिक विपतको लागि आवश्यक सहयोग गर्नको लागि स्थायी फण्डको समेत व्यवस्था गर्न पहल गर्ने छु । त्यस्तो फण्ड गैरआवासीय नेपाली संघले हालै स्थापना गरेको एनआरएनए फाउण्डेशनमार्फत नेपालमा सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन विशेष परोपकारी योजना ल्याउनेछु ।

एनआरएनए यूके सीप बैंकको स्थापना

विदेशमा रहेका नेपालीहरुको सीप र ज्ञानलाई नेपालको समृद्धिमा लगाउने उदेश्यले वेलायतमा रहेका विभिन्न पेशामा रहेका विज्ञहरुको छुट्टै संरचनाको स्थापना गरिने छ । त्यस्तो संरचनामा डाक्टर, इन्जिनियर, विभिन्न विश्वविद्यालयमा अध्यापन गरिरहेका नेपालीहरुलाई सहभागी गराइनेछ । उहाँहरुले सिकेको ज्ञान र सीपलाई नेपालको हितमा प्रयोग गर्न नेपाल सरकारसँग समन्वय गरिनेछ ।

विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने अभियानमा दोस्रो पुस्ताको सहभागिताको सुनिश्चितता गर्न विशेष कार्यक्रमहरु ल्याइने छ ।

विकासको आधारः पर्यटन प्रवर्धन र व्यापार

बेलायतबाट नेपालमा वार्षिक ५० हजार भन्दा बढी पर्यटकहरुले भ्रमण गर्छन् । बेलायती पर्यटक नेपालको पर्यटन क्षेत्रका लागि मुख्य आम्दानीको स्रोतको रुपमा रहेको छ । थप बेलायती पर्यटकहरु नेपालमा भित्राउन नेपाली दूतावास लण्डनसँग समन्वय र सहकार्य गरेर गैरआवासीय नेपाली संघ यूकेले विशेष कार्यक्रमको तर्जुमा गर्नेछ । विश्वव्यापी कोरोना भाइरसको महामारीका कारणले नेपालको पर्यटन क्षेत्रमा परेको प्रभावलाई कम गर्न बेलायती पर्यटकको प्रमुख गन्तव्य नेपाललाई बनाउन प्रेरित गर्न गन्तव्यको प्रचार—प्रसार गर्न विशेष योजना ल्याउनेछु ।

नेपाली नागरिकताको निरन्तरता, साझा र पारदर्शी एनआरएन हाम्रो प्रतिवद्दता

बेलायती नागरिकता लिइसक्नु भएका नेपालीहरुको मुख्य चासो नेपाली नागरिकताको निरन्तरता र सम्पतिको अधिकारमा रहेको छ । करिब ८० हजार भन्दा बढी नेपालीहरुले बेलायती नागरिकता लिइसक्नु भएको अनुमान गरिएको छ । उनीहरुको नेपाली नागरिकताको अधिकारलाई सुनिश्चित गर्न गैरआवासीय नेपाली संघ यूकेले विशेष पहल गर्ने छ । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्ममा रहेर बेलायतमा रहेका भूपू गोर्खाहरुको समेत नेपाली नागरिकताको ग्यारेन्टी गर्न पहल गरिनेछ ।

नेपालको संविधानले सुनिश्चित गरे अनुसार गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार र मतदानको अधिकारलाई शिघ्र कार्यान्वयनका लागि विशेष पहल गर्नेछु ।

स्मार्ट एनआरएनए, निशुल्क सदस्यता– स्थायी सचिवालय स्थापना

गैरआवासीय नेपाली संघ यूकेलाई प्रविधीमैत्री बनाउन संघका गतिविधि तथा बेलायतमा रहेका नेपालीहरुलाई जानकारी गराउने उद्देश्यले प्रविधिमार्फत हात हातमा एनआरएनए अभियान सञ्चालन गरिने छ । सोही अभियानमार्फत नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणाली, सदस्यता वितरण प्रणालीलाई व्यवस्थित गरिनेछ ।

बेलायमा रहेका सबै नेपालीहरुलाई गैरआवासीय नेपाली संघको सञ्जालमा आवद्ध हुन न्यूनतम शुल्क उम्मेदवारी शुल्क र निःशुल्क सदस्यता पञ्जीकरणका लागि पहल गर्नेछु । गैरआवासीय नेपाली संघ यूकेलाई विभागिय अवधारण अनुरुप अघि बढाइने छ र कार्यसमितिका सदस्यहरुलाई थप जिम्मेवारी दिइनेछ ।

नेपाली संघसंस्था बीचको एकता कायम गर्दै सुदृढ समाज निर्माणमा मेरो प्रतिबद्दता रहने छ । संघको काउन्सिल बैठकलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइने छ ।

नेपाली भाषा संस्कृति, भेषभूषाको प्रर्वधन

बेलायतमा रहेका नेपालीहरुका गतिविधिहरुलाई एउटै छातामुनी ल्याउने उद्देश्यले नेपाली समुदायको सहयोग र सक्रियतामा नेपाली भाषा संस्कृति, भेषभूषा झल्किने गरेर नेपाल हाउसको स्थापना गर्न पहल गर्नेछु । सो हाउसभित्र नेपालका सबै जातीहरुकाले लगाउने भेष-भूषा झल्किने छुट्टै मिनी नेपाल स्थापना गरिने छ ।

आर्थिक स्थायित्व

संघलाई आर्थिक रुपमा पारदर्शी, आत्मनिर्भर र दीर्घकालसम्म संस्थागतरुपमा संचालन हुने वातावरण निर्माण गर्दै अन्य संघसंस्थालाई समेत उत्प्रेरणाको रुपमा लिने बनाउने छु । यसको शुरुवात निर्वाचित भएको पहिलो महिनाबाटै बिज्ञहरु समेतको सहकार्यमा कामको थालनी गर्ने छु ।

अन्त्यमा,

गैरआवासीय नेपाली संघ यूकेको पारदर्शिता, प्रविधिमैत्री र एकताको लागि पूर्ण प्रतिबद्धता जाहेर गर्दछु ।

मैले गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षको जिम्मेवारी पाएमा संघलाई बलियो, एकताबद्ध र व्यवस्थित बनाउनेदेखि ‘ नेपालीको लागि नेपाली भन्ने मुलमन्त्रलाई सार्थक पार्न इमान्दारीपूर्वक र प्रतिबद्ध रूपमा काम गर्ने प्रतिज्ञा गर्दछु । गैरआवासीय नेपाली संघका संस्थापक अग्रज, संघसंस्था, सञ्चारकर्मी, सहकर्मी एवं सम्पूर्ण सदस्यमाझ गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षको जिम्मेवारी दिन यहाँको अमूल्य मतको लागि हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद

रोजिना प्रधान राई, अध्यक्ष (प्रत्यासी) गैरआवासीय नेपाली संघ यूके

फानबरो – ह्याम्पसायर, यूके

जुलाइ ९, २०२१

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू