बिहीबार, चैत १५, २०८०
11:59 | १७:४४

१९ औं गोर्खाकप: जम्मा ४२ टीमबीच प्रतिस्पर्धा हुँदै

नेपाली लिङ्क जुलाइ ७, २०२१

फाइल तस्बिर

लन्डन । कोरोना महामारीका कारण गत वर्ष स्थगित हुन पुगेको गोर्खाकप यसपटक यही जुलाई २४ मा हुँदैछ । 

अल्डरसटस्थित क्वीन्स् एभिन्यूमा तय १९ औं गोर्खाकपमा मुख्य र भेटेरान गरी दुई विधामा जम्मा ४२ टीमको प्रतिस्पर्धा हुने भएको छ ।  

यसपटकको गोर्खाकपमा मुख्य विधामा ३२ र भेटेरान विधामा १० टीमको नाम दर्ता भएको प्रतियोगिताका टीम दर्ता संयोजक कुमार गुरुङले जानकारी दिए । संयोजक गुरुङका अनुसार, गत मे १९ मा टीम दर्ता खुलाइएको तीन घण्टाभित्रै भेटेरानतर्फ ठाउँ भरिएको थियो भने मुख्य विधा पनि तीन दिनमै ‘फुल’ भएको थियो ।  

यसपटक गोर्खाकपका हल्यान्ड र बेल्जियमबाट एकएक टोली सहभागी रहनेछन् भने बांकी सबै टीम बेलायतभित्रैबाट छन् ।

‘विगत वर्षहरुमा भन्दा पनि निकै ठूलो आकर्षण यसपटक देखियो । कोभिड महामारीले गर्दा गत वर्षको प्रतियोगिता रोकिएका कारण पनि खेलाडीहरुलाई व्यग्र प्रतिक्षा भइरहेको हुन सक्छ’, टीम दर्ता संयोजक गुरुङले भने, ‘गत वर्ष गोर्खाकप मिस गर्न वाध्य दर्शकहरु पनि यो पटक उर्लिएर आउने अपेक्षा छ ।’

बेलायत सरकारको अहिलेको योजनाअनुरुप नै जुलाई १९ बाट लकडाउन पूरै हट्यो भने दर्शकको सहभागितामा कुनै नियन्त्रण  आवश्यक नहुने तर जम्मा हुन पाउने मानिसको संख्या तोकिएको अवस्थामा सोहीअनुसार गर्नुपर्ने मनस्थिति आयोजकको छ ।  

गोर्खाकपमा मुख्य विधातर्फ विजेतालाई २५ सय पाउण्ड र उपविजेतालाई १५ सय पाउण्ड तथा भेटेरान विधामा विजेतालाई १२ सय पाउण्ड र उपविजेतालाई ८ सय पाउण्ड पुरस्कार प्रदान गरिनेछ ।  

यसपटक गोर्खाकपमा प्यारासुट् जम्प, नेपाली सांस्कृतिक नाचहरु लगायतका विशेष आकर्षण रहनेछन् ।  कार्यक्रमस्थलमा विभिन्न नेपाली खाना, नेपाली सामग्री, च्यारिटी तथा व्यवसायका गरी दर्जनौं स्टलहरु पनि राखिनेछन् ।

१९ औं गोर्खाकपको संयोजन आयोजक तमु धिं यूकेका स्पोर्ट्स् सेक्रेटरी क्या देव घलेले गर्दैछन् ।  

तमु धिं यूके अध्यक्ष हित काजी गुरुङले गोर्खाकपमा सहभागिताका लागि बेलायतस्थित सिंगो नेपाली समुदायलाई आव्हान गरेका छन् । ‘गत वर्ष महामारीका कारण सम्भव भएन, यसपटक झन् भव्य गर्ने हाम्रो तयारी छ’, अध्यक्ष गुरुङ भन्छन्, ‘बेलायतका सम्पूर्ण नेपालीलाई एक ठाउँमा उभ्याउन सफल रहंदै आएको यो इभेन्टलाई हाम्रो सिंगो नेपाली समुदायले आफ्नै ठानेर सफल बनाउनतर्फ सहयोग गर्छ भन्ने हामीलाई विश्वास छ ।’ 

१९ औं गोर्खाकपबारे जानकारी दिन तमुधिं यूकेले जुलाई १८ तारिख आइतबार दिउंसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ । सोही अवसरमा प्रतियोगितामा सहभागी हुने टीमहरुको  घोषणा र ‘म्याच ड्र’ पनि गराइँदैछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू