शुक्रबार, वैशाख १४, २०८१
22:06 | ०२:५१

बेलायतमा दैनिक एक लाख संक्रमित हुन सक्ने !

नेपाली लिङ्क जुलाइ ६, २०२१

लन्डन–बेलायतमा दैनिक एक लाखसम्म कोरोना संक्रमित हुनसक्ने स्वास्थ्यमन्त्री साजिद जाविदले चेतावनी दिएका छन् । लामो समयदेखि इंग्ल्याण्डमा जारी लकडाउन खुल्न दुईसाता भन्दा कम समय बाँकी रहंदा स्वास्थ्यमन्त्रीको उक्त भनाइ आएको हो ।

सोमबार मात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दुईसाता भित्र दैनिक पचास हजार संक्रमित पुग्ने बताएका थिए ।

सरकारले जुलाई १९ देखि कोरोना नियन्त्रणका लागि जारी सम्पूर्ण प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

पछिल्ला दिनमा बेलायतमा कोरोना संक्रमित संख्या तीव्र बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा झन्डै २९ हजार नयाँ संक्रमित थपिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २८ हजार ७७३ नयाँ संक्रमित थपिएका हुन् । यो संख्या जनवरीयताकै उच्च हो ।

यससंगै बेलायतमा कुल संक्रमितको संख्या ४९ लाख ५८ हजार ८६८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २८ हजार २६८ पुगेको छ ।

७ करोड ९३ लाख बढी खोप वितरण

बेलायतमा ७ करोड ९३ लाख २ हजार ८५७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५४ लाख २८ हजार ६८१ जनाले पहिलो र तीन करोड ३८ लाख ७४ हजार १७६ जनाले दोस्रो डोज लगाएका छन् ।

जुलाइ ६ सम्मको तथ्यांक अनुसार यहाँ ६४.३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८६ दशमलव २ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू