बिहीबार, चैत १५, २०८०
17:39 | २३:२४

एनआरएनए यूके अधिवेशन जुलाई १८ तारिख ‘भर्चुअल’ गर्ने निर्णय

नेपाली लिङ्क जुलाइ ३, २०२१

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको २०१९–२१ कार्यकालको अधिवेशन आगामी जुलाई १८ तारिख ‘भर्चुअल’ माध्यमबाट हुने भएको छ । शुक्रबार सम्पन्न संघको कार्यसमिति पूर्ण बैठकले उक्त निर्णय गरेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।

बैठकले आगामी निर्वाचन अनलाइन माध्यमबाट गर्ने निर्णय गर्दै उम्मेद्वारी दिने पदाधिकारी तथा सदस्यहरुको मनोनयन शुल्क यस पूर्व (२०१७–१९) को निर्वाचनमा तोकिए बमोजिम नै गर्ने निर्णय गरेको छ । उम्मेदावारी शुल्क एनआरएनए यूकेको तोकिएको खातामा अनलाइनमार्फत भुक्तानी हुनुपर्ने छ ।

बैठकले गैरआवासीय नेपाली संघ बेलायत अन्तर्गतका सबै राज्य परिषदहरुको निर्वाचन राष्ट्रिय समन्वय परिषदले अपनाएको निर्वाचन प्रणाली अनुसार केन्द्रिय निर्वाचन समितिको मातहत तथा राज्य समन्वय परिषदको परामर्शमा गर्ने निर्णय भएको संघले जनाएको छ । राज्यपरिषदको हकमा राज्य समन्वय परिषदको परामर्शमा आवश्यकता अनुसार निर्वाचन उपसमिति गठन गर्न सकिनेछ । उपसमितिहरुको क्षेत्राधिकार निर्वाचन समितिले तोके अनुसार हुनेछ ।

बैठकले निर्वाचनका लागि आवश्यक पर्ने खर्च निर्वाचन समितिबाट माग भए बमोजिम प्रदान गर्न अध्यक्षको परामर्शमा कोषाध्यक्षलाई म्यान्डेट दिने निर्णय भएको छ ।

एनआरएनए यूकेको आगामी जुलाई ३१ तारिख हुने निर्वाचन गर्न यस अघि ३० मार्च २०२१ को कार्यसमितिको निर्णय अनुसार निर्वाचन प्रमुख आयुक्तमा पूर्व अध्यक्ष महेन्द्रराज कंडेललाई जिम्मेवारी दिइएकोमा प्रमुख आयुक्तको प्रस्ताव अनुसार निर्वाचन समिति विस्तार तथा पूर्णता दिन एक सदस्य सचिव सहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने सम्पूर्ण म्यान्डेट प्रमुख निर्वाचन आयुक्त महेन्द्र राज कंडेललाई दिने निर्णय गरेको छ ।

निर्वाचन सम्बन्धि सम्पूर्ण निर्णय गर्ने अधिकारको अख्तियारी निर्वाचन समितिलाई प्रदान गरिएको छ । निर्वाचन समितिले पूर्णता पाउनासाथ आधिकारिकता सहित निर्वाचन सम्बन्धि आवश्यक कार्यसम्पादन शुरु गर्न सक्ने महासचिव भट्टराईले जनाए ।

संघकी अध्यक्ष श्रीमति पुनम गुरुङको अध्यक्षतामा भएको उक्त बैठकमा एनआरएनए यूकेका पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कंडेल, निर्वतमान अध्यक्ष तथा आइसीसी सदस्य योग कुमार फगामी तथा आइसीसीहरु दयानिधि सापकोटा, रामशरण सिंखडा, सुरोज मास्के, अर्कराज तिम्सेनाको उपस्थिति थियो ।

बैठकमा एनआरएनए यूके पदाधिकारीहरु, ४ वटै राज्य परिषदका अध्यक्ष लगायत २७ जना पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू