सोमबार, वैशाख २४, २०८१
17:14 | २१:५९

लन्डनमा भूतपूर्व गोर्खाहरुले गर्ने तय भएको भोक हड्ताल स्थगन

नेपाली लिङ्क जुन ३०, २०२१

लन्डन । भूतपूर्व गोर्खाहरुले लन्डनमा गर्ने भनिएको आमरण अनसन केही समयका लागि स्थगन भएको छ ।

समान पेन्सन लगायत अधिकारको माग गर्दै आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपाल सरकारको पत्रपछि जुलाइ १ देखि लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि गर्ने तय गरेको आमरण अनसन आउंदो जुलाइ २१ (साउन ६ गते) सम्म स्थगन गरेको हो ।

नेपाल सरकारले पत्र पठाउंदै भूतपूर्व गोर्खाहरुका माग सम्वोधन गर्न पहल गर्ने आश्वासन दिएपछि भूतपूर्व गोर्खाहरु उक्त कार्यक्रमबाट केही समय पछि हटेका हुन् ।

तर, बेलायत सरकारले वेवास्ता गरे पूर्व निर्धारित कार्यक्रम फेरि सुचारु गरिने सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले नेपाली लिंकलाई जानकारी दिए ।

‘बेलायतको पब्लिकले समेत कोभिड महामारीका कारण जुलाइ १९ सम्म कार्यक्रम नगर्न अनुरोध गरेको थियो । नेपाल सरकारको पनि आश्वासनपछि हामीले तीन साता स्थगित गर्ने भएका हौं’, राईले भने ।

नेपाल सरकारले पठाएको पत्रमा आफ्ना मुद्दा समाधानका लागि बेलायत सरकारसँग प्रत्यक्ष रूपमा वार्ता गर्न नेपाल सरकारले पहल गरिरहेको जानकारी पाएको संघर्ष समितिद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

संघर्ष समितिले जुलाइ २१सम्म बेलायतबाट कुनै प्रतिक्रिया नआए प्रधानमन्त्री कार्यालय अगाडि सत्याग्रह र अन्य कार्यक्रम गर्न बाध्य हुने दोहोरयाएको छ ।

सत्याग्रहले यसअघि १५ दिने भोक हडताल गर्ने तय गरेको थियो । गोर्खा अभियन्ताहरु ज्ञानराज राई, धन गुरुंग र पुष्पा राणा घले आमरण अनसनमा बस्न राजी भएका थिए । भूतपूर्व गोर्खाहरुले अबको आन्दोलन निर्णायक हुने दावी गर्दै आएका छन् ।

१ जुलाइमा जुलुस भने गरिने

यसैबीच, सत्याग्रह समितिका निर्देशक ज्ञानराज राईले भोक हड्ताल तीन साताका लागि स्थगन भएपनि भूतपूर्व गोर्खाहरुको जुलुस भने १ जुलाइमा हुने बताएका छन् ।

सेन्ट्रल लन्डनस्थित गोर्खा स्मारक अगाडिबाट बिहान साढे ११ बजे जुलुस शुरु हुने जनाउंदै राईले नेपाल सरकारको आग्रह र कोभिड १९ का कारण भोक हड्ताल केही समय सरेपनि बेलायत सरकारले आफ्नो माग नसुने २१ जुलाइपछि भोक हड्ताल थालिने चेतावनी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू