मंगलबार, वैशाख २५, २०८१
00:53 | ०५:३८

नर्दन आयरल्यान्डवासी नेपालीले पठाए महावीर पुनको आविष्कार केन्द्रलाई साढे ७ लाख

नेपाली लिङ्क जुन २९, २०२१

लन्डन । बेलायतको नर्दन आयरल्यान्डमा बस्ने नेपालीहरुले पनि कोभिड महामारीविरुद्धको लडाईंमा सघाउने उद्धेश्यले आर्थिक सहायता नेपाल पठाएका छन् ।  

नेप्लिज कम्युनिटी नर्दन आयरल्यान्डको पहलमा स्थानीय नेपालीहरुबाट संकलित करिब साढे सात लाख रुपैंयाको सहयोग पठाइएको कम्युनिटीका अध्यक्ष बल थापाले नेपाली लिंकलाई जानकारी दिए ।  

कम्युनिटीले ७ लाख ४८ हजार ७ सय २० रुपैंया ५० पैसा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई पठाएको हो ।  

लोकप्रिय टेलिभिजन कार्यक्रम ’इन्द्रेणी’ मार्फत कम्युनिटीले केन्द्रलाई सहयोग गरेको हो । बाढीपहिरो पीडितलाई राहत बांड्न अहिले उपत्यकाबाहिर रहेको इन्द्रेणी टीम काठमाडौं फर्किएलगत्तै आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण गरिने कार्यक्रम छ ।  

महावीर पुनद्वारा संचालित केन्द्रले महामारीका बेला विभिन्न स्वास्थ्य सुरक्षा सामग्रीहरु आफै उत्पादन गरी विभिन्न अस्पातलहरुलाई निशुल्क वितरण गरिरहेको छ ।

‘महामारीको संकटपूर्ण घडीमा राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको उदाहरणीय कार्यको प्रशंसा गर्न र उहाँहरुको हौसला बढाउनका निम्ति हामीले केन्द्रलाई नै सहयोग पठाएका हौं, कम्युनिटी अध्यक्ष बलबहादुर थापाले भने, ‘ त्यहाँ पठाएको रकम पूर्ण सदुपयोग हुन्छ र कोभिड महामारीबाट संक्रमित तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सहयोगमा परिचालन हुन्छ भन्नेमा हामी पूर्ण ढुक्क छौं ।’ 

कम्युनिटी अध्यक्ष थापाले यो अभियानमा सहयोग गर्ने नर्दन आयरल्यान्डस्थित सम्पूर्ण नेपाली एवम् संघसंस्थाहरुलाई कम्युनिटीको तर्फबाट आभार प्रकट गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू