शुक्रबार, वैशाख १४, २०८१
07:39 | १२:२४

‘एनआरएन द सिंगर’ को डिजिटल अडिशन शुरु

पुरस्कारहरु क्रमश: १५ लाख, ७ लाख र ४ लाख

रासस जुन २८, २०२१

लण्डन–विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिंगर’ को उद्घाटन गरिएको छ ।

आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष पन्तले यो कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।

संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले कार्यक्रम सफल बनाउनका लागि देशविदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गरे । उनले यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको हुने बताए ।

प्रि-अडिशनपछि नेपालका टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ । प्रतियोगिताका केही एपिसोड नेपालमा पनि हुनेछन् । त्यसका लागि अवस्था पनि हेर्नुपर्ने हुन्छ । त्यो बेलासम्म महामारीको अवस्था कस्तो हुन्छ त्यसअनुसार पनि निर्णय हुने बताइएको छ । कति अडिशन भर्चुअल गर्ने र कति भौतिक रुपमै गर्ने भन्ने कुरा त्यही अवस्थाअनुसार हुने गौतमको भनाइ थियो ।

निर्णायक समितिका प्रमुख निर्णायक बाँस्कोटाले सबै नेपालीको साथ र सहयोगबाट एनआरएनएको यो ऐतिहासिक साङ्गीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले विदेशमा पनि ठूलो नेपाल छ, नेपाली छन्, भाषा, साहित्य र संस्कृति छ भन्ने कुरा दर्शाउन यो कार्यक्रमले इँटा थप्ने भनाइ राखेका थिए ।

कार्यक्रममा निर्णायक शम्भु राई, आइसिसी सदस्य तृष्णा शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए । उद्घाटनपछि प्रिअडिशन आइतबारदेखि खुला भइसकेको छ । डायस्पोराका नेपाली भाषी अग्रज र अनुजका स्वर प्रतिभा पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ शुरु गरेको हो ।

कार्यक्रममा प्रथम पुरस्कार रु १५ लाख, द्वितीय पुरस्कार रु सात लाख र तृतीय पुरस्कार रु चार लाख तोकिएको आयोजकले जनाएका छन् । ‘एनआरएन द सिंगर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन् । भिडियो फाइल र त्यसको लिङ्कसमेत एपमा राख्न सकिनेछ । यो एपमा कार्यक्रमबारे जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ ।

‘खोजीः एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार बाँस्कोटा, गायक राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् ।

वरिष्ठ सङ्गीतकार तथा निर्णायक मण्डलका प्रमुख निर्णायक बाँस्कोटाले विश्वभरि छरिएका नेपाली सङ्गीतकर्मी र कलाकारलाई कार्यक्रममा जोड्न सुझाव दिँदै यो कार्यक्रमले नेपाली कला क्षेत्रलाई माथि पुरयाउने र नेपाली भाषीलाई नेपाली गीतसङ्गीत सिक्न प्रोत्साहित गर्ने अपेक्षा पनि व्यक्त गरे ।

कार्यक्रममा पत्रकारले राखेका जिज्ञासाको मूल आयोजक समितिका हिक्मत थापा, गोविन्दप्रसाद गौतम, गणेशराज गौतम, रमण झा लगायतले जवाफ दिएका थिए । यो कार्यक्रमको सहउत्पादन टेक क्राफ्ट अस्ट्रेलियाले गरिरहेको छ भने सुवी टेक्नोलोजी प्रविधि पार्टनरका रुपमा छन् ।

कार्यक्रमको सभापतित्व संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले र सञ्चालन मूल आयोजक समितिका सचिव खड्ग न्यौपानेले गरेका थिए ।

प्रतियोगितामा भाग लिने सहभागीका लागि नियमहरू:

१ गीत नेपाली भाषामा हुनुपर्नेछ ।

२ गीतका प्रकारहरू- लोक, आधुनिक, झ्याउरे, सोरठी, देउडा, मारुनी, काठे भाका, असारे, रोधी, फिल्मी गीत, देशभक्ति वा पप गीत गाउनुपर्नेछ ।

३ प्रतियोगीले www.nrnthesingers.com मा गएर आवेदन दर्ता फाराम अनिवार्य भर्नुपर्नेछ ।

४ गैरआवासीय नेपालीहरू, NRN विधानअनुसार विदेशी मूलका नेपालीहरू र नेपाली भाषीहरूले भाग लिन पाउनेछन्।

५. घर विदामा नेपाल बसेका गैरआवासीय प्रतिभाहरूको हकमा उनीहरूको सम्बन्धित देशको परिचयपत्र (ID card) प्रमाणित भए मात्रै भाग लिन पाउनेछन्।

६ १५ वर्षभन्दा माथि उमेर भएकाहरूले मात्रै प्रतियोगितामा भाग लिन पाउनेछन्।

७ गीतको भिडियो (portrait/vertical) नभइ तेर्सो (landscape/Horizontal) हुनुपर्नेछ ।

८ भिडियो गुणस्तर (Quality) न्यूनतम HD अथवा 1080p मा मात्रै पठाउनुपर्नेछ ।

९ पहिलो गायन परीक्षण(pre-audition) बिना बाजा, बाजा वा दुबै प्रयोग गर्न सकिनेछ ।

१० गायन परीक्षणको (pre-audition)का लागि एक स्थायी र एक अन्तरा अनिवार्य गाउनुपर्नेछ ।

११  भिडियोमा ब्याकग्राउन्ड साउन्ड हुनुहुँदैन ।

१२  एपबाट बाहेक अन्य माध्यमबाट आएका भिडियोहरूलाई समावेश गरिने छैन् ।

१३  भिडियो डे लाइटमा खिच्नुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू