सोमबार, वैशाख २४, २०८१
14:51 | १९:३६

विपन्न बिरामीहरुको उपचारका लागि गुरुङ सोसाइटी केन्टको सहयोग

नेपाली लिङ्क जुन २८, २०२१


लन्डन । गुरुङ सोसाइटी केन्ट यूकेले कोभिड १९ महामारीबाट प्रभावित निम्न आय भएका नागरिकलाई सहयोग गर्ने उद्धेश्यले नेपालमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बसुन्धरास्थित ग्रिनसिटी अस्पताल र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमार्फत् सहयोग गर्ने गरी शनिबार एक समारोहबीच सोसाइटीले सहयोग प्रदान गरेको हो ।

समाजले ग्रिनसिटी अस्पताललाई ५ लाख ७७ हजार, डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ३ लाख र पवित्र गुरुङलाई १ लाख रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ । त्यसैगरी, समाजले एनआरएनए यूकेलाई पनि २ वटा अक्सिजन कन्सन्ट्रेटरका लागि १४ सय पाउण्ड गत मे महिनामा हस्तान्तरण गरिसकेको समाजका महासचिव गोलमान गुरुङले बताए ।

सोसाइटीका तर्फबाट महिला संयोजक पवित्र गुरुङले ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलाई ५ लाख ७७ हजार र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख कार्यकारी निर्देशक मीरा पोख्रेललाई ३ लाख हस्तान्तरण गर्दै सहयोग सहि ठाउँमा उपयोग हुने विश्वास व्यक्त गरिन् 

सो अवसरमा गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष राजदेवी गुरुङले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै आफूहरु देशबाहिर रहेपनि भावना र मन नेपालमै भएको बताइन् । आफ्नो समाजले गरेको सहयोगले दुखिरहेको घाउमा मलमपट्टी लगाउने विश्वास उनले व्यक्त गरिन् ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार चित्र गुरुङले आफूहरु नेपाली भएको नाताले पनि सहयोगका हात सधैं अघि बढाइरहने बताए । कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले अस्पताल र गुरुङ सोसाइटी केन्ट यूकेबीचको सहकार्य उदाहरणीय हुने बताए । उनले अस्पतालले विगतमा पनि दीन दुखीका लागि निशुल्क उपचार गर्दै आएको जानकारी गराए 

सोही अस्पतालका फाइनान्स डाइरेक्टर रेनुका गुरुङले आर्थिक स्थिति कमजोर भएर कोही पनि उपचारबाट बञ्चित नहुन् भन्ने उद्धेश्यले गुरुङ सोसाइटी केन्ट यूकेका पदाधिकारी र सदस्यहरुले गरेको सहयोगप्रति आभार व्यक्त गरिन् । यो सहयोगको उचित उपयोग गरिने विश्वास उनले दिलाइन् ।

अस्पतालमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख कार्यकारी निर्देशक मीरा पोख्रेलले सहयोग मिनी अक्सिजन प्लाण्टका लागि खर्च गरिने जानकारी गराइन् ।

नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक बद्री काजी गुरुङले संचालन गरेको कार्यक्रममा वरिष्ठ पत्रकार एवम् जनता टेलिभिजनका प्रधानसम्पादक टंक पन्त, समाजसेवी उमेश श्रेष्ठ, सघीय संसद सचिवालयका उपसचिव कमल खडका, अस्पतालका आइटी अधिकृत प्रवीन टण्डन लगायतको उपस्थिति थियो । 

बेलायतको केन्टस्थित गुरुङ सोसाइटी केन्ट यूकेले नेपालमा दुःख र विपत परेको बेला थुप्रै परोपकारी कार्यहरु गर्दै आएको छ । अहिले पनि मातृभूमि नेपालको स्वास्थ्य संकटलाई ध्यानमा राख्दै नेपालमा केहि सहयोग गर्नुपर्छ भनि आर्थिक सहयोग संकलन गरेको हो । समाजले २०१५ को महाभूकम्पले ग्रसित गोर्खाको दुर्गम केराबारी १ नेपानेस्थित नेपाने माध्यमिक विद्यालयमा आर्थिक सहयोग गरी पुस्तकालय भवन निर्माण गरेको थियो ।

अहिलेको असहज परिस्थितिमा पनि छोटो समयभित्र आफ्नो देशमा परिआएको विपत्ति विरुद्ध लड्न सहयोग संकलन गरी हस्तान्तरण गर्न पाउँदा एकदमै खुशी लागेको समाजकी अध्यक्ष राजदेवी गुरुङले बताइन् । उनले यस अभियानमा साथ र सहयोग दिने सबैलाई आभारसहित धन्यवाद व्यक्त गरिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू