शनिबार, असोज ५, २०८१
02:21 | ०७:०६

बेलायतको नटिङघममा साइकलबाट पल्टिएर नेपाली युवाको निधन

नेपाली लिङ्क जुन २४, २०२१

लन्डन । बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा एक नेपाली युवा सेफको निधन भएको छ ।

गत जुन १८ तारिख शुक्रबार बिहान साइकल दुर्घट्नामा गम्भीर घाइते ३४ वर्षीय बद्री गौतमको आइतबार मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले नेपाली लिंकलाई बताए ।

गौतम गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका थिए । तर, वर्षाका कारण भलिबल खेल्न नमिले पछि घर फर्कने क्रममा घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट पल्टिएका थिए ।

घट्नापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा आइतबार राती १० बजे निधन भएको हो । साइकलबाट पल्टिएर टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राती १० बजे निधन भएको बताइएको छ ।

उनी तीन वर्षअघि साइकलबाटै लडेर टाउकोमा गम्भीर घाइते भएपछि भेन्टिलेटरमा राखेर ३ महिना उपचार गरिएको चालिसेले बताए । त्यसपछि केही समय साइकल नचलाएका उनी केही दिनयतामात्र पुनः साइकल चलाउन थालेका थिए ।

नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउंमा जन्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत आएका थिए । उनी केही वर्षदेखि सेफका रुपमा कार्यरत थिए ।

अत्यन्तै अप्रत्यासित दुर्घटनाले परिवारमा एक्लो छोरा बद्री गौतमका ७५ वर्षीय बुवा थानिश्वर गौतम विक्षिप्त बनेको नटिङघम नेपाली समाजका पूर्व अध्यक्ष एवं हाल एनआरएनए यूके सल्लाहकार तथा संघसंस्था समन्वय विभागका सदस्य सचिव विष्णु चालिसेले नेपाली लिंकलाई बताए । ७ दिदी बहिनीका एक्ला भाई गौतमले दुई वर्ष अघिमात्र आमा गुमाएका थिए ।

उनको सन् २०१५ मा बुटबल निवासी सरिता ज्ञवालीसंग बिहे भएको थियो । उनकी श्रीमति संगै थिइन् तर उनीहरुका सन्तान भइसकेको थिएन ।

उनी भलिबलमा अत्यन्तै रुचि राख्थे । नटिङघमको मेलवन पार्कमा सन् २०१७ देखि उनकै पहलमा हरेक समर सिजनमा नेपालकै झल्को मेटिने गरि भलिवल खेल्न थालिएको थियो ।

नेपाली समाज नटिंघमका आजीवन सदस्य गौतम गल्कोट समाज यूकेमा पनि कार्यसमिति सदस्य थिए ।  उनको अन्त्येष्टी यही शनिबार ११ बजे गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष दीपक सापकोटाले जनाए ।

एनआरएनए यूकेको आगामी २०२१-२०२३ कार्यसमितिको सचिव पदका प्रत्यासी चालिसेले अप्ठेरो परिस्थितिमा साथीहरुको सहानुभूति र सान्त्वनाले थोरै राहत मिलेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू