शुक्रबार, वैशाख ७, २०८१
11:55 | १६:४०

भिसी तुलबहादुर पुनको नाममा बेलायतमा रेलवे सेवा शुरु

नेपाली लिङ्क जुन २३, २०२१


लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको सम्मान स्वरूप उनको  नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले रेल सेवा शुभारम्भ गरे । 

दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै तय गरिएको यो कार्यक्रम कोभिड १९ महामारीका एकवर्ष पछि सरेको हो ।

उक्त समरोहमा बेलायती अभिनेत्री जोआना लुम्लेको पनि उपस्थिति थियो । आफू ६ वर्षको उमेर हुँदा भिसी पुनलाई देखेको भएपनि आफ्नो पिता बितेको ९ वर्षपछि मात्र उनीसंग भेट भएको उनले बताइन् । पुनसंगको भेटमा उनले आफ्नो पिताको बारेमा सोधेको र उनको मृत्यु भइसकेको बताएपछि ‘अबदेखि तिमि मेरी छोरी भयौ’ भनेको स्मरण समेत गरेकी थिइन् ।

इतिहासमा पुनको नाम अंकित भइसकेको र रेलवे सेवामा समेत नाम अंकित गरिनुले पुनको स्मरण अझ अमर रहने लुम्लेले बताइन् । 

ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामित्व र सहयोगका लागि लामो समयदेखि रेलवेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन् ।

भिसी पुनको नाम कुँदिएको रेल आजैदेखि लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा शुरू भएको छ । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिएका थिए ।

गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखाहरुसित काम गर्दा खुशी लागेको बताए । उनले पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद समेत दिए ।

साथै उनले नेपालमा रहेका गोरखा र उनका परिवारहरु कोभिड १९ को जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । उक्त समरोहमा थुप्रै पूर्व गोर्खाहरुको सहभागिता थियो ।

भिक्टोरिया क्रस प्राप्त गर्ने  १३ जना गोरखा सैनिकमध्ये हाल एकजना मात्र जीवित छन् । सन् १९२३ मार्च २३ मार्चमा म्याग्दी जिल्लामा जन्मेका पुनले २१ वर्षको उमेर हुँदा दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाएका थिए । सन् २०११ अप्रिल २० मा पुनको निधन भइसकेको छ ।

जीवनको पछिल्लो समय पुनले भूपू गोर्खाहरूको परिवारलाई बेलायतमा बस्न दिनुपर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्रपङ्तिमा रहेर काम गरेका थिए ।

फोटो-शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू