आइतबार, जेठ ६, २०८१
13:02 | १७:४७

बेलायतमा खोप लगाउन प्रति घण्टा २१ हजार बढीले गरे नाम दर्ता

प्रति सेकेन्ड ६ जनाले बुक गरे

नेपाली लिङ्क जुन २१, २०२१

फोटो पीए

लन्डन– बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन प्रति घन्टा २१ हजार भन्दा बढी मानिसले नाम दर्ता गराएका छन् । गत शुक्रबार र शनिबार खोपका लागि नाम दर्ता गराउनेको संख्या प्रति सेकेन्ड ६ जना रहेको अधिकारीहरुले जनाएका छन्, जुन अहिले सम्मकै अत्यधिक संख्या हो ।

उक्त दुई दिनमा एक मिलियन भन्दा बढी अर्थात १० लाख ८ हजार ४७२ मानिसहरुले खोपको लागि अग्रिम दर्ता गराएका थिए । हाल इंग्ल्याण्डमा १८ वर्ष माथि उमेर पुगेकालाई खोप वितरण शुरु गरिएको छ ।

गतवर्ष डिसेम्बर ८ बाट बेलायतमा शुरु गरिएको कोरोनाविरुद्धको खोप अभियानमा हालसम्म ७ करोड ४५ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड १४ लाख बढीले दुवै डोज लगाएका छन् भने चार करोड ३१ लाख बढीले खोपको पहिलो डोज लगाइसकेका छन् ।

पांच जना वयस्कमध्ये चार जनाले पहिलो डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

बेलायत सरकारले आज जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने घोषण गरेको भएपनि नयाँ डेल्टा भाइरसको संक्रमण तीव्र भएपछि जुलाइ १९ सम्मका लागि पर सारिएको छ ।

सो अवधिसम्म कम्तीमा पनि ४० वर्ष माथिकालाई दुवै डोज खोप दिइसक्ने पब्लिक हेल्थ इंग्ल्याण्ड कोभिड–१९ डाइरेक्टर डा सुसन हप्किन्सले बताएकी छन् । जुलाई १९ भित्र करिब ७० प्रतिशतलाई दुवै डोज दिने योजना रहेको पनि उनले जानकारी दिइन् ।

बेलायतमा हजारौंको संख्यामा खोप केन्द्र सञ्चालनमा ल्याइएको छ । दुवै डोज खोप लगाएका मानिसलाई विदेश भ्रमण, आइसोलेशन र सामाजिक गतिविधिमा समेत थप सहजता प्रदान गरिने भनाइ आएपछि मानिसहरु खोप लगाउन थप आतुर छन् ।

बेलायत सरकारले केही नियम भने आजैबाट लागू हुनेगरी परिवर्तन गरेको छ । वैवाहिक समरोहमा लगाइएको सिमित व्यक्तिको प्रतिबन्धलाई स्थान अनुसार सुरक्षित मापदण्डमा हलवालाले निर्धारण गर्न सक्नेछन् । मास्क तथा सामाजिक दुरीको पालना गर्न भने अनिवार्य छ भने नाचगान गर्न प्रतिवन्ध छ । जुलाई १९ बाट भने यी सबै प्रतिवन्ध फुकुवा गर्ने सरकारको योजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू