शुक्रबार, चैत १६, २०८०
07:15 | १३:००

बेलायतका लागि नेपाली राजदूत रेग्मीलाई स्याङ्जावासीद्वारा स्वागत  

गोमा राना जुन २१, २०२१

लन्डन । बेलायतका नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायतमा बसोवास गर्दै आएका स्याङ्जालीहरुबीच आइतबार प्रत्यक्ष भेटघाट भएको छ ।

क्याम्बर्लीस्थित मिमोसामा भएको भेटघाट कार्यक्रममा राजदूत रेग्मीका साथमा श्रीमती चन्द्रकला रेग्मी तथा दूतावासका अन्य सदस्यको पनि उपस्थिति थियो ।

कोरोना सम्बन्धि नियम पालना गर्दै स्याङ्जा समाज यूकेका तर्फबाट अध्यक्ष शारदा गुरुङले राजदूत दम्पतिलाई स्वागत गरेका थिए ।

स्याङ्जा घर भएका रेग्मीलाई प्रत्यक्ष रुपमा भेट्न पाउँदा स्याङ्जावासीहरु निकै उत्साहित थिए । देशको प्रतिनिधि र बेलायतमा अभिभावकको रुपमा आफ्नै मातृभूमि स्याङ्जा जिल्लाका राजदूतसंग प्रत्यक्ष भेट्न पाउँदा गौरव महशुस भएको सहभागीहरुले बताए ।

सोहि दिन ‘फादर्स डे’ समेत परेकाले राजदूत रेग्मीलाई खादा तथा मालाले स्वागत गर्दै  ‘केक’ समेत काटिएको थियो । बेलायतमा रहेका स्याङ्जावासीहरुसंग पहिलोपल्ट प्रत्यक्ष रुपमा भेट्न पाउँदा आफूलाई अत्यन्त खुशी लागेको रेग्मीले बताएका थिए ।

आफ्नो कार्यकालमा बेलायतमा रहंदा सम्पूर्ण नेपालीहरुको निकटमा रहेर काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए । बेलायतमा स्याङ्जालीहरुको जनसंख्या धेरै रहेपनि महामारीका कारण ३० जना भन्दा बढी भेटघाट गर्न नपाउने नियमले गर्दा सिमित व्यक्तिहरुबीच मात्र स्वागत कार्यक्रम भएको थियो ।

अध्यक्ष गुरुङले सबैलाई समेट्न नसकेकोमा दु:ख व्यक्त गर्दै छोटो समयमा पनि उपस्थित भएकोमा सबैलाई धन्यवाद दिए । कार्यक्रममा स्याङ्जा समाज यूकेका प्रतिनिधि, विभिन्न समाजसेवीलगायत व्यक्तिहरुको उपस्थिति थियो ।

यसअघि ‘भर्चुअल’ माध्यमबाट भेट भएपनि राजदूतसंगको प्रत्यक्ष भेटघाट भने यो नै पहिलो हो । कोरोना महामारीका कारण बेलायतमा जारी लकडाउन केहि खुकुलो भएसंगै स्थानीय नेपालीहरुले सानोतिनो जमघट शुरु गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू