शुक्रबार, चैत १६, २०८०
13:12 | १८:५७

पत्नीको जन्मदिनमा श्रेष्ठद्वारा नर्सिङ क्याम्पसमा अक्षय कोष स्थापना

नेपाली लिङ्क जुन २०, २०२१

लन्डन । बेलायतस्थित सामाजिक अभियन्ता शिवजी श्रेष्ठले पत्नीको नाममा नेपालस्थित एक नर्सिङ क्याम्पसमा अक्षय कोष स्थापना गराएका छन् ।  

पत्नी उर्मिला श्रेष्ठले अध्ययन गरेको महाराजगंजस्थित नर्सिङ क्याम्पसमा रु २ लाख राशिको अक्षय कोष स्थापना गरिएको उनले बताए ।  

पत्नीको जन्मदिनको अवसर पारेर स्थापना गरिएको कोषबाट बार्षिक रुपमा त्यहाँ अध्ययनरत आर्थिक रुपमा कमजोर र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिए ।

पत्नी उर्मिलाको पचासौं जन्मदिन विशेष बनाउने उद्धेश्यले शिवजीले उनलाई ‘सरप्राइज’ स्वरुप कोष स्थापन गरिदिएको बताए ।  

जन्मदिनमा धुमधामसंग खर्च गरेर मनाउनुभन्दा रचनात्मक क्षेत्रमा कुनै कार्य गरे उनको नाम कालान्तर सम्म रहने र जेहेन्दार विद्यार्थीले आफ्नो अध्ययनको लागि सानो भए पनि भरथेग प्राप्त गर्ने सोचेर नै छात्रवृत्ति स्थापना गरिएको उनको भनाइ छ ।  

पत्नी उर्मिलाको सम्मानमा उनले अध्ययन गरेको आफ्नै क्याम्पसमा छात्रवृत्ति स्थापना गर्ने कार्य सबैको लागि उदाहरणीय भएको क्याम्पसकी प्रमुख श्रीमती सुलोचना श्रेष्ठ बताउँछिन् । 

यसअघि उर्मिलाको जन्मदिन असार ६ (जुन २०) को अवसरमा छात्रवृत्ति स्थापना गर्न गत बिहिबार महाराजगंज नर्सिङ क्याम्पसमा आयोजित एक कार्यक्रममा श्रेष्ठ परिवारबाट विनिता श्रेष्ठ र प्रभात एसीले रु २ लाखको चेक सहायक क्याम्पस प्रमुख, विद्यार्थी कल्याण कोषका पदाधिकारीहरु लगायतको उपस्थितिमा क्याम्पस प्रमुख सुलोचना श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । उक्त रकम भविष्यमा थप गर्दै लैजाने संस्थापक श्रेष्ठले बताएका छन् । 

आफ्नो जन्मथलोको स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा लागि पर्दै आएका श्रेष्ठको परिवारले आफ्ना बाजे बजैको नाममा स्थानीय जालपा मावि, गैरीगाउँमा अक्षय कोष, बाबु आमा को नाममा आफू पढेको स्कुल सज माविमा इ-लाइब्रेरी, आफ्नो स्वर्गीय दाइको नाममा ओखलढुंगा क्याम्पसमा छात्रवृत्ति  स्थापना लगायतका कार्य गरेको छ । 

परिवारका सदस्यहरुको जन्मदिनमा समेत उनीहरुले नियमित रुपमा विभिन्न परोपकारी कार्य गर्दै आएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू