बिहीबार, वैशाख ६, २०८१
02:26 | ०७:११

एनआरएनए यूके सदस्य बन्न साढे ११ हजार बढीको आवेदन

नेपाली लिङ्क जुन १७, २०२१

लन्डन–गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सदस्यताका लागि साढे ११ हजार बढीले आवेदन गरेका छन् ।  

सदस्यता आवेदनका लागि निर्धारित गत सोमबार मध्यरात अन्तिम समयसीमासम्म कुल ११ हजार ६ सय ४२ आवेदन प्राप्त भएको एनआरएनए यूकेले जनाएको छ ।  

महासचिव फडिन्द्र भट्टराईका अनुसार प्राप्त आवेदनहरुमध्ये बिहीबार दिउँसोसम्म साढे १० हजार बढी सदस्यता स्वीकृत भइसकेका छन् । बांकी आवेदनहरु ‘भेरिफिकेसन’ को क्रममा रहेको उनले जनाए ।  

दुई वर्षअघि झन्डै १४ हजार सदस्यसहित यूके विश्वकै सबभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद (एनसिसी) बनेको थियो । यो वर्ष पहिलोपटक एनआरएनए आइसीसीको ‘एमआइएस सिस्टम’ अन्तर्गत अनलाइनमार्फत् सदस्यता वितरण गरिएको थियो ।

एनआरएनए यूकेको आगामी कार्यसमिति चयनका लागि आउंदो जुलाई ३१ तारिखका दिन निर्वाचन हुँदैछ । भावी अध्यक्षका लागि अहिलेसम्म प्रेम गाहामगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठ मैदानमा देखिएका छन् ।  

यसैबीच, एनआरएनए यूकेले एक वक्तव्यमार्फत् सदस्यताका लागि आवेदन गर्ने बेलायतवासी सबै नेपालीमा धन्यवाद ज्ञापन गरेको छ ।  

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले जारी गरेको वक्तव्यमा समुदायस्तरमा एनआरएनएप्रति देखिएको चासो, सरोकार र सहभागितालाई एनआरएनए यूकेले सकारात्मक र महत्वपूर्ण रुपमा लिएको उल्लेख छ ।

एनआरएनए यूकेको आसन्न निर्वाचन स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्न वर्तमान कार्यसमिति प्रतिवद्ध रहेको भन्दै वक्तव्यमा समुदायबाट आवश्यक साथ र सहयोगको अपेक्षा गरिएको पनि जनाइएको छ ।  

हेरौं वक्तव्य: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू