मंगलबार, चैत ६, २०८०
02:26 | ०८:११

भूतपूर्व गोर्खाहरुले घेरे सेन्ट्रल लण्डन

नेपाली लिङ्क जुन १६, २०२१

Ex gurkhas

लण्डन । आफ्ना मागका लागि वर्षौंदेखि आन्दोलनरत भूतपूर्व गोर्खा सैनिकहरुले मंगलबार लन्डनको केन्द्रमा एक भव्य रयाली गरेका छन् । ‘हामीलाई न्याय चाहियो, समान व्यवहार गरियोस्’ भन्ने प्लेकार्डसहित सैयौं गोर्खा तथा तिनका परिवारहरु रयालीमा उपस्थित थिए । 

ब्रिटेनको सिख समुदाय लगायत अन्य विभिन्न भूपू ब्रिटिश सैनिकहरुले भूतपूर्व गोर्खालाई साथ दिएका थिए । पाइपर र ड्रमसहितको रयालीमा नेपाललाई कोभिड १९ विरुद्ध लड्न सहयोग गर्न आग्रह गर्दै प्लेकार्डसहित प्रदर्शनी गरिएको थियो ।

बेलायती संसद भवन बाहिर कोण सभामा परिणत भएको सो रयालीमा गोरखा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राई, यूके नेपाल फ्रेण्डसिप सोसाइटीका प्रमुख कार्यकारी अधिकृत अलान मार्सल स्यांका, गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राई, सन्तोष थलङ, बेलायती पूर्व सैनिकहरु र शिख समुदायका प्रतिनिधि लगायतले आ-आफ्ना धराणा राखेका थिए ।

भूतपूर्व सैनिकहरुको समस्याबारे वार्तामा आउन अनुरोध गर्दै गोरखा भूतपूर्व सैनिकहरुले लण्डनस्थित प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्रसमेत पठाएका छन् । नेपाल तथा ब्रिटिश सरकारलाई वार्ताको पहल गर्दै वार्ता टोली गठन साथै वार्तास्थल समेत टुंगो लगाउन माग गरिएको छ ।

जुलाई १ भित्र बेलायत सरकारले वार्ताको ढोका नखोले आगामी जुलाई १ बाट रिले अनसन गरिने र त्यसपछि तीनजना गोर्खाहरु आमरण अनसन बस्ने जानकारी गोर्खाहरुले दिएका छन् ।

पेन्सन लगायतका विषयमा भेदभाव गरिएको भन्दै भूतपूर्व गोर्खाहरु वर्षौंदेखि आफ्ना विभिन्न मागसहित आन्दोलनमा छन् । सन् २०१८ मा नेपाल सरकार, ब्रिटिश सरकार, प्रमुख गोर्खा संगठनका प्रतिनिधिहरुको प्राविधिक समितिद्वारा बुझाइएको प्रतिवेदन लागू गर्न समेत उनीहरुको आग्रह छ ।

२२ वर्ष नोकरी पुर्याएका बेलायती गोर्खालीलाई बेलायती सैनिक सरह पेन्सन दिनुपर्ने, २१ वर्ष उमेरमा सेवा शुरु गरि ६ वर्ष नोकरी गरेका गोर्खा अधिकृतले बेलायती अधिकृतसरह पेन्सन पाउनुपर्ने जस्ता माग गोर्खाको छ । 

यसैगरी १५ वर्ष नोकरी गरेका गोर्खा सिपाहीले २२ वर्ष सेवा गरेका बेलायती सिपाहीसरह पेन्सन पाउनुपर्ने, नोकरीको सिलसिलामा मृत्यु भएका र लिबरल, डिसएबिलिटी लगायतलाई पेन्सन, सन् १९९७ अघि नोकरीबाट बर्खास्त गरिएकालाई एकमुष्ट रकम दिनुपर्ने र कम्तिमा दुई वर्ष नोकरी गरि सेवा निवृत्त भएका पेन्सन नपाएकालाई संचित पेन्सनको व्यवस्था हुनुपर्ने जस्ता मागहरु पनि राखिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू