शुक्रबार, वैशाख ७, २०८१
01:51 | ०६:३६

एनआरएनए यूके सदस्यता आवेदन म्याद ४ दिन थप

नयाँ समयसीमा जुन १४ तारिख सोमबार मध्यरात

नेपाली लिङ्क जुन १२, २०२१

लन्डन । एनआरएनए यूकेको सदस्यता आवेदन गर्ने म्याद ४ दिन थप भएको छ । यसअघि निर्धारित जुन १० तारिख बिहीबारसम्मको समयसीमा सकिएलगत्तै ४ दिन बढाएर जुन १४ तारिख सोमबारसम्म पुरयाइने भएको छ ।

शुक्रबार सम्पन्न कार्यसमितिको बैठकले संरक्षक परिषद समेतको सुझावका आधारमा सदस्यता आवेदनको म्याद थप गर्ने निर्णय लिएको महासचिव फडिन्द्र भट्टराईले जानकरी दिए । यसअघि सोही विषयमा छलफल गर्न बिहीबार बेलुका बसेको बैठक बिहान ३ बजे कुनै निर्णयबिना नै सकिएको थियो ।  

बैठकको निर्णयअनुसार अब सदस्यता आवेदनका लागि अन्तिम समयसीमा यही जुन १४ तारिख सोमबार मध्यरातसम्म रहनेछ । शुक्रबारदेखि सोमबारसम्मको ४ दिनमा आवेदनहरु मान्य हुनेछन् ।

यसअघि संरक्षक परिषदले जुन ३० सम्मका लागि म्याद थप गर्न सल्लाह दिएको थियो । अध्यक्षका अरु प्रत्यासीहरुले सदस्यता ‘भेरिफिकेसन’ को अवसर पाएपनि एक प्रत्यासी दीपक श्रेष्ठ उक्त अवसरबाट वञ्चित भएपछि उनले सदस्यता आवेदनको म्याद थप गरेर आफूलाई पनि भेरिफिकेसनको अवसर दिइनुपर्ने आवाज उठाएका थिए ।

बैठकले सदस्यता आवेदनहरुको भेरिफाइ गर्ने टिममा श्रेष्ठलाई पनि थप गर्ने निर्णय गरेको छ ।

संरक्षक परिषदको सल्लाहअनुसार जुन ३० सम्मलाई म्याद बढाउनेबारे कार्यसमितिमा छलफल गरिएपनि अध्यक्ष प्रत्यासी प्रेम गाहा मगरले म्याद नबढाउने पक्षमा अडान राखेपछि अध्यक्ष पुनम गुरुङले केही दिन मात्रै थप गर्ने मध्यमार्गी प्रस्ताव अघि सारेकी थिइन् ।

हालसम्म झन्डै ९ हजार जनाले एनआरएनए यूकेको सदस्यता लिइसकेका छन् ।

दुई वर्षअघि झण्डै १४ हजार सदस्यसहित विश्वकै सबैभदा ठूलो राष्ट्रिय समन्वय परिषद बनेको यूकेमा ४ दिन म्याद बढेपछि यसपटक पनि सदस्य संख्या विगतकै हाराहारीमा पुग्न सक्ने आँकलन गरिएको छ ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू