मंगलबार, वैशाख ११, २०८१
14:44 | १९:२९

तमु समाज यूकेद्वारा कोरोना पीडितका लागि ११ लाख २५ हजार सहयोग

नेपाली लिङ्क जुन ९, २०२१

लन्डन । तमु समाज यूकेले नेपालमा कोरोना पीडितका लागि ११ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका विभिन्न तीन संस्थामार्फत सहयोग गरेको हो ।

समाजले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख २५ हजार, रवि लामिछाने फाउण्डेसनलाई ३ लाख र राधा पौडेल फाउण्डेसनलाई ३ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।

तमु समाज यूकेका तर्फबाट शान्तिकला गुरुङले रवि लामिछाने फाउण्डेसन र राधा पौडेल फाउण्डेसनलाई सहयोग रकम हस्तान्तरण गरिन् ।

त्यसैगरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरे ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन हाल अमेरिकामा रहेकाले सो केन्द्रका किशोर रिमाललाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । सो अवसरमा रिमालले तमु समाज यूकेलाई सहयोगका लागि धन्यवाद दिए ।

रिमालले केन्द्रले विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए । समाजले उपलव्ध गराएको सहयोग रकम पनि सो अभियानमा लगाउने जानकारी दिए ।

त्यसैगरी, रवि लामिछाने फाउण्डेसनका संस्थापक तथा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले समाजबाट प्राप्त सहयोग सही ठाउँमा सदुपयोग गर्ने बताउँदै समाजलाई धन्यवाद दिए ।

उता, राधा पौडेल फाउण्डेसनकी संस्थापक राधा पौडेलले स्वास्थ्य सामग्री अभाव भएको ठाउँमा स्वास्थ्य सामग्री उपलव्ध गराउन समाजको सहयोग उपयोगी हुने भन्दै धन्यवाद दिए ।

तमु समाज यूकेले चन्दामार्फत रकम संकलन गरेको हो । संस्थाका उपाध्यक्ष शिव कुमार गुरुङले संकलित रकमको विस्तृत जानकारी दिएका थिए भने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले प्रचार–प्रसार अभियान सञ्चालन गरेका थिए ।

महासचिव हर्क गुरुङले सूचना सम्प्रेषण र अध्यक्ष शिवचन्द्र गुरुङले संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।

गत वर्षदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणपछि समाजले बेलायतको ‘एनएचएस’ मा पीपीइ खरिदका लागि समेत आर्थिक सहयोग गरेको थियो ।

त्यसैगरी संस्थाका सम्पूर्ण सदस्यलाई मास्क तथा स्यानिटाइजर वितरण र लकडाउनको समयमा स्वदेशमा कठिनाइ भोगिरहेकालाई नगद तथा खाद्यान्न वितरण समेत गरि झण्डै ६ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।

तमु समाज यूकेको सामाजिक सक्रियता र सदस्यहरुको सद्भावले हालसम्म एक करोड रुपैयाँ भन्दा बढी आर्थिक सहयोग नेपालमा पठाइसकिएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।

समाजले गुरुङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्न विभिन्न धार्मिक तथा साँस्कृतिक चाडपर्वहरुलाई विशेष महत्वसहित भब्यताकासाथ मनाउंदै आएको छ । यसबाट प्रवासमा रहेका भावी पुस्तालाई आफ्नो मातृभूमि एवं भाषा, संस्कार, संस्कृति र परम्पराबारे सधैं सचेत रहन सघाएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू