शुक्रबार, वैशाख ७, २०८१
11:22 | १६:०७

बेलायती महारानीसमक्ष राजदूत रेग्मीले बुझाए ओहोदाको प्रमाणपत्र

नेपाली लिङ्क जुन ९, २०२१

लन्डन । बेलायतका लागि २१ औं नेपाली राजदूत लोकदर्शन रेग्मीले आज बुधबार लन्डनको बकिंघम प्यालेसमा आयोजित एक विशेष समारोहबीच बेलायती महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

‘भर्चुअल’ रुपमा सम्पन्न सो कार्यक्रममा राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको सम्वृद्धिको कामना गरेका थिए ।

ओहोदाको प्रमाण पत्र बुझ्दै महारानीले राजदूतलाई बधाई तथा सफल कार्यकालको शुभकमना दिएकी थिइन् । महारानीले बेलायत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गर्दै नेपालको विकासमा सहयोग गर्ने बेलायत सरकारको प्राथमिकता रहेको बताएकी थिइन् ।

आफूले गरेका नेपालको दुईवटा ऐतिहासिक भ्रमण स्मरण गर्दै महारानीले नेपालमा कोरोना संक्रमण र खोपको अवस्थाबारे समेत चासो व्यक्त गरेको लन्डनस्थित नेपाली दूतावासले बुधबार जनाएको छ ।

सो समारोहमा राजदूत रेग्मीले ब्रिटेन नेपालबीचको दुई सय वर्ष भन्दा लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक- आर्थिक विकासमा पुरयाएको सहयोगप्रति सरहाना गरेका थिए । साथै कोभिडविरुद्धको लडाईंमा बेलायती सहयोगका लागि पनि राजदूतले धन्यवाद दिएका थिए ।

उक्त समारोह बकिंघम प्यालेसबाट विन्जर क्यासलमा भिडियो लिंकमार्फत भएको थियो । महारानी एलिजाबेथ हाल विन्जर क्यासलमा बस्दै आएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू