आइतबार, जेठ ६, २०८१
12:36 | १७:२१

बेलायतमा फेब्रुअरीयताकै उच्च संक्रमण   

७ हजार ५४० जना नयाँ संक्रमित

नेपाली लिङ्क जुन ९, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमण दर गत फेब्रुअरी २६ यताकै सबैभन्दा उच्च कायम भएको छ । पछिल्लो एक सातामा कोरोना संक्रमण दर ७४ प्रतिशतले बढेको अधिकारीहरुले जनाएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ५४० जना नयाँ संक्रमित थपिएका छन् ।

यो संख्या अघिल्लो दिनको तुलनामा एक हजार पाँच सयले बढी हो । यससंगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ३५ हजार ७५४ पुगेको छ ।

संक्रमण दर बढ्दै गर्दा बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने विज्ञहरुले बताउंदै आएका छन् ।

कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा भने अहिलेसम्म खासै वृद्धि भएको छैन् । पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । हिजो मंगलबार १३ को ज्यान गएको थियो ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८६० पुगेको छ । संक्रमण दर बढ्दै गएपनि अस्पताल भर्ना हुने र अस्पतालमा रहेको संक्रमित संख्या भने अझै न्यून छ ।

बेलायतमा ६ करोड ९२ लाख भन्दा बढी खोप वितरण

बेलायतमा ६ करोड ९२ लाख ५१ हजार भन्दा बढी डोज खोप वितरण भएको छ ।

पछिल्लो जानकारी अनुसार यहाँ ५४ दशमलव २ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ७७ दशमलव ३  प्रतिशतले पहिलो डोज लगाइसकेका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ६ करोड ९२ लाख ५१ हजार १६३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७ लाख १० हजार ३१९ जनाले पहिलो र दुई करोड ८५ लाख ४० हजार ८४४ जनाले दोस्रो डोज लगाएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू