बिहीबार, वैशाख १३, २०८१
13:27 | १८:१२

एनआरएनएनए यूके निर्वाचनमा दीपकलाई तमुधिंका अगुवाको समर्थन

नेपाली लिङ्क जुन ६, २०२१

लन्डन । एनआरएनए यूकेको निर्वाचन नजिकिँदै गर्दा यतिबेला बेलायतको नेपाली समुदायमा चुनावी माहोल तात्न थालेको छ ।

यसैक्रममा भावी अध्यक्षका एक दाबेदार दीपक श्रेष्ठले समुदायका विभिन्न संघसंस्था र समूहको समर्थन जुटाउने अभियान तीव्र पारेका छन् । चुनावी अभियानको दोस्रो चरणको पहिलो दिन श्रेष्ठले गतसाता अल्डरसटमा तमुधिं यूकेका अगुवा अभियन्ताहरुसंग छलफल गरेका छन् ।

अल्डरसटको एम्पाएर हलमा भएको छलफलमा तमुधिं यूकेका संस्थापक अध्यक्षदेखि पूर्व, निवर्तमान र वर्तमान अध्यक्षहरू, सहारा यूकेको वर्तमान तथा निवर्तमान अध्यक्षहरुसहित अन्य विभिन्न संघसंस्थामा आवद्ध अग्रज समाजसेवीहरुको उल्लेख्य उपस्थिति थियो ।

त्यसअवसरमा अध्यक्ष प्रत्यासी श्रेष्ठले आफू एनआरएनए यूकेको कार्यसमितिमा सदस्यदेखि कोषाध्यक्ष हुँदै इंग्ल्याण्ड राज्य परिषदको अध्यक्ष सम्मका जिम्मेवारीमा रहेर काम गरिसकेपछि अब संस्थालाई प्रदान गर्न तत्पर रहेको बताए ।

एनआरएनए यूकेमा पूर्व अध्यक्ष मुछेत्र गुरुङको कार्यकालमा आफूलाई सफल कोषाध्यक्ष सावित गर्न सफल उनले एनआरएनए आइसीसीको बुद्ध नेपाल अभियानको पनि संयोजकका रुपमा काम गर्दै अघि बढेको प्रष्टाएका थिए ।

एनआरएनएबाहेक बेलायतस्थित कपिलवस्तु समाज र बुद्ध फाउन्डेसन यूकेका संस्थापक अध्यक्ष श्रेष्ठले आफू आबद्ध संस्थाहरुले नेपाली दूतावाससंग सहकार्य गर्दै लण्डनको मुटु ट्राफ्लगर स्क्वायरमा विदेशी राजदूतहरु, बौद्ध भिक्षुहरु समेतलाई उपस्थित गराएर हरेक वर्ष बुद्धजयन्ती मनाउंदै आएको स्मरण गराए ।

एनआरएनए अभियानमा एक दशक बढीको आवद्धतासंगै विभिन्न संघसंस्थामा अध्यक्षका रुपमा बटुलेको अनुभव तथा यहाँका विभिन्न संघसंस्थाहरू संगको नजिकको सम्बन्ध र सहकार्य गर्दै अघि बढ्न सक्ने आफ्नो क्षमता र आत्मविश्वासका साथ अध्यक्षमा आफ्नो दावी रहेको उनको जिकिर थियो ।

भेटघाट कार्यक्रममा एनआरएनए यूकेका वर्तमान सचिव तथा महासचिवका प्रत्यासी जीत रानाभाटले दुई कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेपछि अब महासचिवको जिम्मेवारी लिन उत्साहित बनेको सुनाए ।

विगतका दिनमा जस्तै भावी दिनहरुमा पनि सहयोग र सहकार्यको आशा राखेको उनले बताए ।

तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरूङले हालसम्म अध्यक्ष प्रत्यासी श्रेष्ठ र महासचिव प्रत्यासी रानाभाटलाई सक्षम र योग्य उम्मेदवारका रुपमा आफूहरुको साथ, सहयोग र पूर्ण समर्थन रहने बताए । उनीहरु दुवैलाई खट्टा नकमाउन र कोही कसैसंग बार्गेनिङ गर्दै नछोड्न उनले सुझाव दिए ।

अध्यक्ष गुरुङले अहिलेको सदस्यता कार्डको म्याद नसकिएकोले सदस्यता कार्डले नविकरण गर्न पाउनुपर्ने व्यवस्था मिलाउन वर्तमान कार्यसमितिको ध्यानाकर्षण गराए ।

तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरूङले श्रेष्ठ र रानाभाटको उम्मेदवारीमा समर्थन जनाउँदै सदस्यता अभियानलाई थप तीव्र पार्न सल्लाह दिए । उनले एनआरएनए यूके युवा संयोजकमा अल्डरसटका युवाहरूमाझ चर्चित चन्दन गुरूङलाई अगाडि जान प्रोत्साहित गरिएको बताए ।

त्यस्तै, तमुधिं युकेका पूर्व अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङले पनि अध्यक्षमा श्रेष्ठ र महासचिवमा रानाभाट विकल्प नरहेको भन्दै शुभकामना व्यक्त गरे ।

तमुधिं यूकेकै निवर्तमान अध्यक्ष नन्दजंग गुरूङले पनि श्रेष्ठ र रानाभाटप्रति आफ्नो पूर्ण समर्थन, साथ र सहयोगको प्रतिबद्धता गरे । उनले गोर्खाहरुको मुद्धा सुल्झाउन एनआरएनए र गोर्खा संघसंस्थाहरुबीच सहकार्य र सहयोग हुनुपर्ने, राजनीतिबिनाको एनआरएनए बनाउनुपर्ने तथा आर्थिक पारदर्शिता कायम गर्नुपर्ने जस्ता एजेण्डाहरुमा अगाडि बढ्न सुझाव दिए ।

सोही अवसरमा सहारा यूकेका अध्यक्ष कुमार गुरूङले पनि सक्षम र योग्य उम्मेदवारका रुपमा अन्तिमसम्म साथ रहने वचन दिए । सहारा यूकेका उपाध्यक्ष कुसाङ गुरुङले आफूहरुको पूर्ण समर्थन रहने भन्दै सदस्यता अभियानमा लाग्न सुझाव दिए ।

उपस्थित अगुवाहरुले श्रेष्ठ र रानाभाटको उम्मेदवारीमा समर्थन र पूर्ण सहयोगको विश्वास दिलाउंदै बार्गेनिङका नाममा पछि नहट्न सल्लाह दिए ।

अध्यक्ष उम्मेदवार श्रेष्ठले चुनावी ‘रेस’ मा दौडिसकेको भन्दै रेसबाट दाँया बांया नलाग्ने र पछि नहट्ने विश्वास दिलाए ।

कार्यक्रममा तमुधिं युकेका वर्तमान अध्यक्ष हितकाजी गुरूङ, संस्थापक अध्यक्ष मिन प्रसाद गुरूङ, अध्यक्ष रामचन्द्र सुर्जे गुरूङ, निवर्तमान अध्यक्ष नन्दजंग गुरूङ, उपाध्यक्ष जुमकाजी पूर्व उपाध्यक्ष हरिगोविन्द गुरूङ, कोषाध्यक्ष कोमल कोन्हे गुरूङ, सहारा यूकेका अध्यक्ष कुमार गुरूङ, निवर्तमान अध्यक्ष मिन गुरूङ, उपाध्यक्ष कुसाङ गुरुङ, स्याङ्जा समाज यूकेका अध्यक्ष शारदा गुरूङ, कास्की मौजा समाज यूकेका अध्यक्ष रामकुमार गुरुङ, शिव कल्चरल सेन्टरका सचिव विक्रम भट्टराई, क्याट यूकेका पूर्व अध्यक्ष वसन्त श्रेष्ठ, अल्डरसट भलिवल क्लबका अध्यक्ष स्वर्ग गुरुङ, समाजसेवी व्यवसायी गणेश गुरुङ, कृष्ण गुरुङ, तमुधिं यूके युवा संयोजक राजेन गुरुङ, शक्तिमान गुरुङ, विमल गुरुङ, सुवास गुरुङ लगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू