आइतबार, जेठ ६, २०८१
13:20 | १८:०५

बेलायतमा तीन महिनायताकै उच्च संक्रमण

नेपाली लिङ्क जुन ४, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक तथ्यांक अनुसार संक्रमण दर गएको तीन महिनायताकै उच्च छ । अघिल्लो हप्ताको तुलनामा संक्रमण दर ४९ प्रतिशतले बढेको छ ।

पछिल्लो २४ घन्टामा ६ हजार दुई सय ३८ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । दैनिक संक्रमण दर तीनहजार भन्दा कम रहँदै आएपनि पछिल्लो एक हप्तामा यो संख्या निरन्तर बढ्दै गएको छ । नयाँ संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ४५ लाख छ हजार नाघेको छ ।

यसैगरी बितेको २४ घन्टामा ११ संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८२३ पुगेको छ ।

गत मंगलबार बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या महामारी शुरु भएयता पहिलोपल्ट शून्यमा झरेको थियो । पछिल्लो तथ्यांक अनुसार बेलायतमा हालसम्म छ करोड ६७ लाख ४९ हजार ६३८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९९ लाख ४९ हजार ६९४ जनाले पहिलो र दुई करोड ६७ लाख ९९ हजार ९४४ जनाले दोस्रो डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू