बिहीबार, चैत १५, २०८०
10:51 | १६:३६

आन्दोलनको आंधीबेहरी ल्याउने चेतावनीसहित दूतावास पुग्यो गोर्खा सत्याग्रह टिम

नेपाली लिङ्क जुन ३, २०२१

लन्डन । समान पेन्सन लगायत सुविधा माग गर्दै आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बिहीबार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीसंग भेटवार्ता गरेको छ ।

राजदूत रेग्मीसंग करिब डेढ घण्टा भएको छलफलमा सत्याग्रह समितिले आफूहरुको अल्टिमेटम, भावी आन्दोलन रुपरेखा र पछिल्लो समय बेलायती रक्षा मन्त्रालयले ‘वार्तामा बस्न तयार भएको’ भन्ने समाचारबारे प्रष्ट्याएको समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।

भेटमा राजदूत रेग्मीले गोर्खा मुद्दा सम्बन्धमा नेपाल र बेलायतका सरकारी प्रतिनिधिसंग एक चरण वार्ता गरि झकझकाइ सकेको र आफू कूटनीतिक पहलमै लागेको अवगत गराएका थिए । ‘गोर्खा समस्या समाधान गर्न वार्ताको विकल्प छैन् । म लागिरहेको छु । मलाई आशा छ तपाईंहरु भोक हडताल जस्तो अप्रिय आन्दोलनसम्म पुग्नु पर्दैन’, राजदूतको भनाइ उधृत गर्दै प्रमुख संयोजक राईले नेपालीलिंकसंग भने ।

गोर्खा सत्याग्रहले आउंदो जुलाई १ तारिखको अल्टिमेटम दिएर मितिसहित वार्ता समिति गठन नगरे भोक हडतालसम्मको चेतावनी दिएको छ । राईका अनुसार, आगामी १५ जुन मध्यान्ह १२.३० बजे सेन्ट्रल लन्डनको गोर्खा स्मारकमा आमसभा गरि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा गएर आफ्ना माग र निर्णायक आन्दोलनबारे पुनः ज्ञापन (रिमाइन्डर लेटर) बुझाउने कार्यक्रम तय भइसकेको छ ।

सत्याग्रहले आफ्ना माग वेवास्ता गरिए ७६ मुलुकका प्रतिनिधिको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र १३ दिने रिले अनसन बस्ने घोषणा गरिसकेको छ ।

प्रमुख संयोजक राई, सत्याग्रहका अभियान निर्देशक अभियन्ता ज्ञानराज राई, उपसचिव गन्ज घले, सह-कोषाध्यक्ष विष्णु गुरुङ र दूतावासका तर्फबाट उपनियोग प्रमुख रोशन खनाल एवं मिलिट्री अट्याची रत्न गोदार सम्मिलित उक्त भेटमा पछिल्लो पटक बेलायती रक्षा मन्त्रालय (एमओडी) ले एनआरएनए यूके गोर्खा विभागका संयोजक प्रेम गाहामगरलाई पत्र पठाएर वार्तामा बस्न तयार रहेको भनिएको पत्रबारे पनि छलफल भएको थियो ।

छलफलमा एमओडीले जिज्ञासा राख्ने जो कोही व्यक्ति वा संघसंस्थालाई जवाफ दिने प्रचलन नौलो नभएको र उसले वार्तामा बस्न तयार छौं भन्नु भ्रमपूर्ण चालबाजी भएको सत्याग्रह समितिले जिकिर गरेको थियो । ‘बेलायत सरकारले नेपाल सरकारलाई पठाउने आधिकारिक पत्रबाहेक अरुमा हामीलाई विश्वास छैन् । यसबारे कोही पनि भ्रममा नपर्न हाम्रो अनुरोध छ’, प्रमुख संयोजक राईले भने ।

सत्याग्रहले आउंदो शनिबार बेलायतको सर्वदलीय संसदीय समिति (एपीपीजी अन नेपाल) का अध्यक्ष सांसद वीरेन्द्र शर्मालाई भेट गरि आफ्नो आन्दोलनबारे अवगत गराउने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू