आइतबार, जेठ ६, २०८१
13:35 | १८:२०

इलाम समाज बेलायतद्वारा गृह जिल्लालाई १४ लाख बढीको सहयोग

२० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर सहयोग

नेपाली लिङ्क जुन २, २०२१

लन्डन । इलाम समाज बेलायतले कोरोना महामारीको चपेटामा परेको गृह जिल्लालाई २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर सहयोग गरेको छ । कोरोना पीडितहरुको उपचार र नियन्त्रणका लागि इलाम समाज बेलायतले तत्काल १४ लाख पचास हजार बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने संस्थाकी अध्यक्ष प्रमिला लाबुङ राईले जानकारी दिइन् ।

इलाम जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाका लागि प्रत्येकलाई दुई/दुई थान अक्सिजन कन्सन्ट्रेटर र दश /दश थान अक्सिमिटर प्रदान गरिने राईले बताइन् । बेलायतका लागि नेपाली राजदूतावासको सहकार्यमा  २० थान अक्सिजन कन्सन्ट्रेटर र एक सय  थान अक्सिमिटर बेलायतबाट काठमान्डौसम्म पठाइने पनि उनले जानकारी दिएकी छन् ।

काठमाण्डौबाट इलामसम्म पुर्याएर वितरण गर्ने जिम्मा भने सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले लिएका छन् । उक्त सामग्री पठाउने कागजी प्रक्रिया पूरा भैसकेको र चांडो भन्दा चांडो नेपाल पुर्याएर सम्बन्धित क्षेत्रमा वितरण गरिने पनि समाजकी अध्यक्ष राईले जानकारी दिइन् ।

सन २००९ मा स्थापना भएको  इलाम समाज बेलायतले देशमा भईपरी आएका हरेक विपत्ति लगायत गम्भिर अवस्थाका विरामीहरुको उपचारार्थ सहयोग आएको छ ।

समाजले गाविसको लागि स्टेचर वितरण, इलामको गोदक स्थित वृद्धाश्रमको निम्ति अत्यावश्यक सामाग्रीहरु, महाभूकम्पको समयमा आर्थिक सहयोग, जिल्लाका विभिन्न स्थानहरुमा भएका आगलागीमा परेका पीडितहरुको निम्ति आर्थिक र भौतिक सहयोग, जिल्लाव्यापी फुटबल प्रतियोगिताका लागि आर्थिक सहयोग जस्ता कार्यमा योगदान पुरयाउंदै आएको छ ।

यसका साथै इलामलाई पर्यटकीय स्थलको रुपमा विश्वसामू परिचित गराउने उद्देश्यले ‘इलाम हाम्रो पहिचान’ नामक इलाम जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थल र सम्पदा अनि विशेष व्यक्तित्वहरुलाई समेटेर वृतचित्र निर्माण समेत तयार पारेको छ ।

इलामवासीहरुको ऐक्यबद्धताको प्रतिक मानिने यो संस्था विशुद्ध सामाजिक संस्था भएको र सोही अनुरुप सामाजिक कार्यहरुमा अग्रसरतापूर्वक संस्थाका सदस्यहरु मात्रै नभएर सम्पूर्ण बेलायतबासी इलामेहरुले हरेक सुखदुखमा आर्थिक, भौतिक र मानसिक रुपले यस्ता सत्कार्यमा संस्थाले हातेमालो गर्दै आएको छ ।

कोरोना महामारीका बेलामा संस्थाकै सदस्यहरुबाट सहयोग संकलन भइरहेकोमा अध्यक्ष राईले सम्पूर्ण बेलायतवासी इलामेहरुप्रति हार्दिक आभार व्यक्त गरेकी छन् । साथै आगामी दिनहरुमा पनि अझै सशक्त रुपले एक्यवद्ध रही अघि बढ्ने कुरामा आफू विश्वस्त रहेको पनि उनले बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू