शनिबार, जेठ ४, २०८२
04:38 | ०९:२३

एनएलसीसीले नेपाल पठायो अक्सिजन कन्सन्ट्रेटर

नेपाली लिङ्क मे २५, २०२१

लन्डन –– लन्डनस्थित नेपाली भाषा तथा सांस्कृतिक केन्द्र (एनएलसीसी) ले कल्याणकारी कामका लागि आफूले जोगाएको रकमबाट एउटा अक्सिजन कन्सन्ट्रेटर खरीद गरी बर्दियास्थित आरसी थारु मेमोरियल अस्पताललाई प्रदान गरेको छ ।

‘बर्दिया जिल्लामा कोभिड संक्रमण निकै बढेको र ग्रामीण क्षेत्रमा रहेको उक्त अस्पतालमा आउने बिरामी हरुले अक्सिजनको समस्या व्यहोर्नु परिरहेको भन्ने खबर आएकाले हामीले सानो भए पनि सहयोग गरेका हौँ’, केन्द्रका अध्यक्ष सुमन प्रधानले भने ।

नेपालमा कोभिडका बिरामीहरुलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त सहयोग गरेको उनले बताए ।

उक्त सहयोग बर्दिया पुरयाउन संयोजनकारी भूमिका निर्वाह गरेका रोटरी इन्टरन्याशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानका सहायक गभर्नर तीर्थ पौडेलले ग्रामीण क्षेत्रमा रहेको अस्पताललाई सहयोग गरेकोमा एनएलसीसीलाई धन्यवाद दिए । प्रवासमा रहेका नेपालीहरुले जन्मभूमिमा कोभिड संकटका बेला पुरयाएको सहयोग प्रशंसनीय रहेको उनले बताए ।

त्यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भागिराम चौधरीले कोभिड संकट चर्की रहेका बेला जीवन जोगाउने सहयोग उपलब्ध गराएकोमा केन्द्र लगायत सम्बन्धित सबैलाई धन्यवाद दिए ।

कोभिड संक्रमण र लकडाउनका कारण नेपाली भाषा तथा संस्कृतिक केन्द्रले लन्डनमा बसोबास गर्ने नेपाली बालबालिकाका लागि अनलाइन माध्यमबाट नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू