मंगलबार, वैशाख ११, २०८१
14:28 | १९:१३

बेलायतमा तीव्र फैलिंदै ‘इन्डियन भेरियन्ट’

२४ घन्टामा एक हजार ९७९ संक्रमित

नेपाली लिङ्क मे १७, २०२१

लन्डन । कोरोना भाइरसको घातक स्वरुप मानिएको ‘इन्डियन भेरियन्ट’ संक्रमण बेलायतमा पनि तीव्र रुपमा बढ्न थालेको छ । गतहप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको तथ्यांकले देखाएको छ ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म २ हजार ३२३ मा उक्त भाइरस पुष्टि भइसकेको छ ।

गत बिहिबार एक हजार ३१३ जनामा संक्रमण पुष्टि भएकोमा अहिले सो संख्या दुई हजार भन्दा बढी पुगेको छ । हाल बेलायतका झन्डै ८६ वटा काउन्सिलमा ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण फैलिएको छ ।

पहिलाको तुलनामा ज्यादा संक्रामक रहेकाले विज्ञहरुले समयमै सावधानी अपनाउन चेतावनी दिएका छन् । इन्डियन भेरिएन्ट ‘केन्ट स्ट्रेन’ भन्दा पनि ५० प्रतिशत बढी संक्रामक हुने उनीहरुले बताएका छन् ।

इन्डियन भेरिएन्टविरुद्ध अहिले बनेका खोप सुरक्षित छन् छैनन् भन्नेबारे वैज्ञानिकहरुको अनुसन्धान जारी छ ।

तर, बेलायतको पछिल्लो तथ्यांकलाई मूल्यांकन गर्दा खोप नलिएका व्यक्ति बढी प्रभावित देखिएका छन् । १८ जना अस्पताल भर्ना भएकामध्ये ५ जनाले सिंगल डोज मात्र लगाएका, एकजनाले दोस्रो डोज पनि लगाएका र बाँकी १२ जनाले खोप नलगाएको स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।

बेलायतमा हाल कोरोना संक्रमणमा कमी आउंदै गरेको अवस्थामा नयां भेरियन्टले थप त्रास बढाएको छ ।

यसैबीच, पछिल्लो २४ घन्टामा बेलायतमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणक अकारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६८४ पुगेको छ ।

२४ घन्टामा थप एक हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख ५२ हजार ७५६ पुगेको छ ।

बेलायतमा हालसम्म कोभिड खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ६९ लाख ९२ हजार ७५ डोज खोप वितरण भएको छ ।

जसमध्ये ३ करोड ६७ लाख ४ हजार ६७२ जनाले पहिलो र दुई करोड दुई लाख ८७ हजार ४०३ जनाले दोस्रो डोज लगाएका छन् । मंगलबारबाट ३७ वर्ष उमेर पुगेकालाई पनि खोका लागि आव्हान गरिने सरकारले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू